Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका थिए ।
असार ४ गते नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न जाँदा अलपत्र परेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको मनाङका डीएसपी सुवास खड्काले ताजानेपाललाई बताएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मनाङको चामे, नासोङ्ग, डिस्याङ र नार्पाभूमि गाउँपालिकाबाट बाढीका कारण समस्यामा परेका ४७४ जनालाई उद्दार गरेर सुरक्षित ठाउँमा सारिएको छ । मनाङ्गको चामे र नासोङ्ग गाउँपालिमा बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले ताजानेपाललाई बताए । मुख्यतः दुईवटा गाउँपालिका सबैभन्दा धेरै प्रभावित भएका छन् प्रजिअ लामिछानेले भने कसैले अनुमान नगरेको प्रकोप आइलाग्यो, यस्तो बाढी मनाङमा यसअघि कहिल्यै आएको थिएन । गत जेठ १४ देखि १६ सम्म परेको अविरल वर्षाले पनि मनाङ र काठमाडौंबीच सडक सम्पर्क टुटाइदिएको थियो । आइतबारदेखि बल्ल मनाङमा ठूलो पानी रोकिएको छ । बाढीले चामे गाउँपालिका–१ तिमाङस्थित स्याल्क्यू छहराको मोटरेबल पुल बगाएको छ ।
तिमाङको छहरामा रहेका दुईवटा पक्की पुल भत्काएपछि राजधानीसँगको सडक सम्पर्क जोडिन सकेको छैन । काठमाडौं र पोखरा हिँडेकालाई १७० जनालाई सुरक्षाकर्मीले तिमाङको छहराबाट उद्धार गरेर पठाए । बेंसीसहर–चामे सडक आयोजनाले बैकल्पिक तरिकाबाट सो बाटो खुलाउने प्रयास गरिरहेको प्रजिअ लामिछानेले ताजानेपाललाई बताएका हुन् । सदरमुकाम चामे भएर बग्ने घट्टु खोला र स्याल्क्यु खोलामा आएको बाढी र मर्स्याङ्दीको बाढीका कारण चामेबाट मात्र ६ सय जना विस्थापित भएका छन् । विस्थापितहरुका लागि पानी, लत्ताकपडा र खाद्यान्न अभाव छ । राहत लैजाने एक मात्र माध्यम हेलिकोप्टर रहेको छ । सरकार, स्थानीय तह र सहयोगी व्यक्तिहरुले पठाएको राहतले विस्थापितको जीवन जेनतेन चलिरहेको बताउँछन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल