Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तालाई दिइन्छ कैद मिनाहा, अनि घट्छ अपराध ?

काठमाडौं । गणतन्त्र दिवसमा बाँकी कैद मिनाहा पाएर निस्किएको ५० औँ दिनमा अर्का व्यक्तिको विभत्स हत्या गरेको आरोपमा महोत्तरीमा एकजना पक्राउ परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका ५ मा सहोडवा गाउँबाट एकहरिया जाने बाटोमा पर्ने आँप बगैँचामा विभत्स हत्या भएको अवस्थामा शव भेटिएको घटनामा स्थानीय रामनाथ दास पक्राउ परेका हुन् ।
बुधबार अपरान्ह स्थानीय ६० वर्षीय रामबहादुर दास आँप बगैँचामा सुतिरहेकै ठाउँमा अनुहारमुनि धारिलो हतियारबाट हत्या भएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार खेतमा पानी लगाउन कोदालो लिएर निस्किएका रामनाथ दासले सुतिरहेका रामबहादुर दासलाई कोदालो प्रहार गरेर हत्या गरेका हुन् । रामनाथ जेठ १५ मा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेका थिए । २०५३ साल चैत ११ गते तत्कालीन सहोडवा गाविसमा रामविलास दासलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा उनी जेल परेका थिए । करिब ७ वर्ष जेल बसेपछि उनी माफी मिनाहामा छुटेका हुन् । ५० प्रतिशत कैद बसिसकेका कैदीलाई उनीहरूको आचरणमा सुधार भएअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गर्ने व्यवस्था रहेको छ ।