Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो बन्दैछ देउवाको योजना

  • ईश्वरी वाग्ले

नेपाली काँग्रेसमा संसदीय निर्वाचनको लेखाजोखा शुरु हुँदा डा. शेखर कोइरालालाई आफ्नै निर्वाचन क्षेत्रभित्रको रंगेली नगरपालिका बचाउन नसकेकोमा कति थकथक भएको होला ? काँग्रेसको राजनीतिमा शेरबहादुर देउवाभन्दा डा. शेखर कनिष्ठ मानिन्छन् । यिनले काँग्रेसको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएर आफ्ना सहयात्रीहरुलाई मात्र होइन पारिवारिक रुपमा भाइ र बहिनीलाई समेत मिलाउन सकेनन् । आफ्नै परिवार र सहपाठी भित्र एकता कायम गर्न नसक्ने नेताले काँग्रेस जस्तो दशथरि चरित्र भएका नेताहरुको मत प्राप्त गर्छ भन्ने विश्वास त्यतिबेलै थिएन । त्यही कारण उनलाई विद्यार्थी राजनीतिदेखि जिल्लाको नेतृत्व लिएर केन्द्रमा पुगेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि पत्याएनन् ।

यस पटक डा. शेखर समूहकै असहयोगका कारण गण्डकी प्रदेशमा काँग्रेस अपेक्षा गरेजस्तो पद हात लगाउन सकेन । भरतपुरमा ती खुलेरै गठबन्धनको विरुद्धमा लागे भने पोखरामा उपमेयर कोपिला रानाभाटलाई पनि सघाएनन् । कोइरालाले देखाएको अहंकारबाट गोरखा, अर्घाखाँची, मोरङ, पूर्वी नवलपुर, संखुवासभा, सिन्धुपाल्चोक, ललितपुर र काठमाडौंमा प्रभाव प¥यो । यी जिल्लामध्ये काठमाडौंको निकट रहेको सिन्धुपाल्चोकमा शेखरकै अघिपछि हिँड्नेहरुले सुनकोशी र इन्द्रावती गाउँपालिकालाई जोगाउन सकेनन् । तीमध्ये कतिले गठबन्धन विरुद्ध खुलेरै लागे भने कति त मतदान गर्न समेत नगएको बताइन्छ ।

सभापति शेरबहादुर देउवाले संघीय निर्वाचन जित्ने गरी काँग्रेसले तयारी गर्ने बताइरहँदा उनको योजनालाई बहुमत केन्द्रीय सदस्य र पदाधिकारीहरुले साथ दिनेछन् । देउवा एक्लै निर्वाचनमा जाने पक्षमा छैनन् भने डा. शेखर नेपाली काँग्रेसलाई एक्लै निर्वाचनमा होम्नु पर्ने अडानमा छन् । त्यसैले उनका प्रवक्ता पुरञ्जन आचार्य भन्दैछन्, काँग्रेस एक्लै लड्यो भने बहुमत आउँछ । स्थानीय तहमा पनि एक्लै लडेको भए ३२५ होइन ४ सय नै कटाउन सक्दथ्यो । ती पुरञ्जनलाई नेपाली काँग्रेसको मोरङ जिल्ला समितिभित्र वडा समितिमा समेत महाधिवेशन प्रतिनिधि बन्न नदिएको पीडा छँदैथियो ।

उनी आफैं महाधिवेशन प्रतिनिधि हुन नसकेको स्थितिमा सिंगो नेपाली काँग्रेसको राजनीतिक समिक्षा गर्दा पत्याउने आधार पनि देखिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र दम्भले संविधान मिच्ने र संसद भंग गर्ने अभियानका विरुद्ध बनेको गठबन्धन हो यो । त्यही कारण नेपाली काँग्रेस आगामी संसदीय निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउने गरी गठबन्धन गर्ने योजनामा छ । काँग्रेसका भलाद्मीहरुका अनुसार नेपाली काँग्रेसले संघको निर्वाचनमा ९० जना र प्रदेशमा १३० जनासम्म उम्मेदवार बनाउने छ । ती सबैलाई जिताउने योजनामा प्रधानमन्त्री तथा सभापति रहेका छन् । संघीय निर्वाचनका निम्ति १६५ जनाको सिट छ भने प्रदेशमा २३० जना रहेका छन् ।

काँग्रेसको योजनाअनुसार यो गठबन्धनमा उम्मेदवार बन्न पाउनेहरुले डा. शेखर कोइराला, गगन थापा, धनराज गुरुङको तर्कलाई कसरी लिन्छन् ? पार्टीका सबै नेता गठबन्धन तोड्न नहुने बताउँदैछन् । यहाँ वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको पक्षधर हुन् उनको पनि यहाँ स्वार्थ जोडिएको छ भने धनुषा जिल्लाबाट निर्वाचन हारेका विमलेन्द्र निधिका लागि पनि गठबन्धन जरुरी छ । अबको काँग्रेसलाई प्रकाशमान सिंह र विमलेन्द्र निधिको लडाइँले नेतृत्व गर्न सक्ने बनाउने हो भने यी दुवै नेता एक ठाउँमा हुनुपर्छ त्यो बेला भारतीय डिजाइनमा खुलेर लाग्ने डा. शेखरलाई संघीय निर्वाचनमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले जिताउने जिम्मेवारी लिए भने भन्नु केही छैन ।

नेपालका नेताहरुले छिमेकी देश भारतका अन्ना हजारे हुन् वा नरेन्द्र मोदीका राजनीतिक क्रियाकलाप र विकासे योजनाहरुको अनुशरण गरेका छैनन् । ५० वर्षसम्म एकछत्र लजाइँ गरेको काँग्रेस आईको हालत अहिले भारतमा कस्तो छ ? काँग्रेसका नेताहरुले बेलैमा बुझेर आफ्नो राजनीतिक अडान लिनु राम्रो हुन्छ । किनकि काँग्रेसका निम्ति मोरङलाई प्रमुख स्थान मानिन्छ । जहाँ डा. शेखर कोइराला आफ्नो राजनीतिक थलो मान्दछन् ।

आफ्नो जिल्लामा पार्टी बलियो बनाउन सकिएन भने निर्वाचनमा पराजय भोग्नु पर्छ भन्ने कुरा बुझ्न नसक्दा विगतमा कोइरालालाई एमालेका लालबाबु पण्डितले पराजित गरेका हुन् । उनले त्यतिबेला पनि आफ्ना प्रतिद्वन्द्वीलाई चिन्दिन भनेर नहेपेको भए पराजित बन्नु पर्ने थिएन । आरोप त उनले निर्वाचन हारेपछि सभापति शेरबहादुर देउवा र उनका सालाहरुलाई लगाए तर कमजोरी डा. शेखरको आफुनै थियो । अझै पनि केपी ओलीमा जस्तै अहंकार दम्भ प्रदर्शन गर्दै गठबन्धनका विरुद्ध लागेर काँग्रेस एक्लै भिड्नुपर्छ भन्न थाले भने शेखरका निम्ति आगामी निर्वाचन संसदसम्म पुग्ने बाटो बन्ने छैन ।