Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यात्रुको समस्या बुझ्न हिँडे ट्राफिक प्रमुख ढकाल

काठमाडौँ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी काँधमा लिएपछि रचनात्मक कार्यक्रम सञ्चालनमा अग्रणी स्थानमा रहेका एसएसपी भीम ढकालले यात्रुको अवस्था बुझ्न आफैं यात्रु बनेर हिँड्न थालेका छन् । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातमा यात्रुहरु कोच्चिएर यात्रा गर्न बाध्य छन् । चावहिल–कोटेश्वर चल्ने नेपाल यातायात, बालाजु–रत्नपार्क चल्ने माइक्रोलगायतमा झन दिउँसोको समयमा पनि यात्रा गर्न कठिन छ । माइक्रो वा बसमा कोच्चिएर यात्रा गर्दा चोरको डर, महिलामाथि हुने हिंसा, ठगीलगायतका समस्याको गुनासोहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोलमा आइरहन्छ ।
बिहीबार दिउँसो यात्रुहरुको गुनासोलाई सम्बोधन गर्नुपर्ने भन्दै महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल अनुगमनको लागि कार्यालयबाट सादा पोसाकमा निस्के । सिधै पुतलीसडकस्थित न्यूप्लाजा पुगे । एकैछिनमा चावहिल–कोटेश्वर चल्ने नेपाल यातायात आइपुग्यो । एसएसपी ढकाल नयाँ बानेश्वर पुग्ने भन्दै नेपाल यातायात चढे । बसको सिट ‘फूल’ थियो । एसएसपी ढकाल उभिएर ढोका नजिकै बसेर यात्रा गरिरहेका थिए । ढोकामा भीड देखेर बसका सह–चालक चिच्याउन थाले । पछाडि पछाडि सर्नु, यात्राको क्रममा एसएसपी ढकालले सहचालकले यात्रुमाथि रुष्ट व्यवहार गरेको, तोकिएको भन्दा बढी भाडा असुलेको जस्ता गतिविधि नियालीरहेका थिए ।
एसएसपी ढकाल नयाँ बानेश्वर पुगे । सह–चालकलाई गोजीबाट लागेको भाडा दिए र ओर्ले । ओर्लिसकेपछि एसएसपी ढकालले सह–चालकलाई आफ्नो परिचय दिए । सह–चालकको अनुहार कालो भयो । एसएसपी ढकालले ‘यात्रुहरुसँग बोल्दा राम्रो बोल्नु, क्षमताभन्दा धेरै यात्रु नहाल्नु र ढाकोमा बस्दा सधैँ ढोका बन्द गर्नु’ भन्दै सहचालकलाई सम्झाए । सहचालकले मुन्टो हल्लाए ।
नयाँ बानेश्वरमा ट्राफिक प्रहरीहरु ड्युटीमै खटिरहेका थिए । सादा पोसाकमा पुगेका एसएसपी ढकाललाई कसैले चिनेनन् । एसएसपी ढकाल पैदल हिँडेर सिभिल अस्पताल पुगे ।
त्यसपछि एसएसपी ढकालले एउटा ट्याक्सी नजिक गएर कोटेश्वर जान आग्रह गरे । ट्याक्सी चालकले हुन्छ भन्दै ‘मिटर वन’ गरे । चालकले ‘मिटर वन’ गरेको देखेर एसएसपी ढकाल ट्याक्सीमै नबसी चालकलाई धन्यवाद दिए । र, आफ्नो पहिचान दिएर अनुगमनको लागि निस्किएको बताए ।
यसरी नै एसएसपी ढकालले बिहीबार दिउँसो तीन वटा ट्याक्सी चढे । र, तीन वटा बसमा यात्रा गरे । तीनवटा ट्याक्सी चढ्दा २ वटा ट्याक्सीले ‘मिटर वन’ गरेर एसएसपी ढकालले भनेको गन्तव्यसम्म गयो भने एउटा ट्याक्सी ‘मिटर’ मा जान मानेन् ।
मिटरमा जान नमानेको ट्याक्सीलाई उनले कारवाही पनि गरेनन् । उल्टो ट्याक्सी चालकलाई सम्झाएर छोडे । एसएसपी ढकाल भन्छन्, ‘कारबाही नै मुख्य होइन् । त्यसैले सम्झाएर छाडेको हुँ ।’
यता बसमा यात्रा गर्दा पनि एसएसपी ढकालले चालक÷सहचालकलाई सम्झाए । एसएसपी ढकाल भन्छन्, ‘सहचालकले यात्रुहरुसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन चाहिँ आवश्यक छ ।’
यात्रु बनेर हेर्दा कयौं सवारीमा क्षमताभन्दा बढी यात्रु, लेन मिच्ने, सार्वजनिक यातायात फोहोर र आरक्षण सिटकोसमेत दुरुपयोग भएको पाइएको एसएसपी ढकालले बताए ।
महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘यो अनुमगन निरन्तर जारी रहन्छ । कहिले एसएसपीले अनुगमन गर्नुहुन्छ त कहिले एसपी, डीएसपीले अनुगमन गर्छौं । अनुगमनमा देखिएका कमजोरीलाई पनि सुधार्दै लैजान्छौं ।’
एसएसपी ढकालले महाशाखाको जिम्मेवारी सम्हालेदेखि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइसकेका छन् । ट्राफिक प्रहरीमा शुद्धीकरणको आवश्यकता छ भन्दै एसएसपी ढकाल एक्सनमै उत्रिएका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल