Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनको आतंक कहिलेसम्म ?

सोलुखुम्बु । स्थानीयदेखि, प्रदेश र संघीय अर्थात् केन्द्र समेतका तीनैवटा निकायको चुनावमा कांग्रेसले नराम्रोसित हा¥यो । कांग्रसको यो हार त्यसै भएको होइन । कांग्रेस पार्टीलाई आफ्नो स्वार्थ सिद्धिको साधन बनाई त्यसैको माध्यमबाट अकुत सम्पति कमाउन पल्केका सोलुका पूर्व सभासद् बलबहादुर केसीजस्ताको कारणले नै कांग्रेस अहिलेको हालतमा पुगेको हो भन्दा अत्युक्ति हँदैन । यस्ता तत्वको कृयाकलापलाई चिनेर सच्चिने बाटोमा लाग्नु पर्नेमा, त्यसमा कांग्रेस अझै पनि लागेको देखिंदैन ।

सोलुखुम्बु जिल्लाको साविक तिङ्ला स्रोत र साधनको धनी मध्येको गाविस हो । सोलुमा नगरपालिका र गाउँ पालिकाहरू कुन–कुनलाई कता पार्ने भनी छुट्याउने काम गर्दा, जिल्लाको प्राविधिक सहयोग समितिले भौगलिक कारणले पायक पर्ने र त्यहाँको जनताको राय समेतबाट तिङ्ला गाविसलाई सोलुको सदरमुकामको अरु गाविससमेतबाट नयाँ बन्ने दूधकुण्ड नगरपलिकामा नै जोड्ने तयारी गरेकोमा बलबहादुर केसीले आफ्नो गाउँ सल्यानलाई बीच केन्द्रमा पार्ने नियतले तिङ्लालाई दूधकुण्ड नगरपालिकाबाट छुटाई, यसलाई पायक नै नपर्ने नेचा सल्यान गाउँपालिकामा गाभिदिए । तिङ्लालाई नेचा सल्यानमा नगाभे उनको गाउँ सल्यान एक छेउमा पथ्र्यो र त्यसलाई नेचा सल्यान गाउँपालिकाको केन्द्र बनाउन नमिल्ने थियो । आफ्नो यस्तै स्वार्थले बलबहादुरले जबरजस्ती तिङ्लावासी सबैले विरोध गर्दा गर्दै पनि तिङ्लालाई नेचा सल्यान गाउँपलिकामा गाभिदिए । यसमा तिङ्ला गाभिन नमानेपछि नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यान बन्न पनि सकेन । नेचा वासीले पनि सल्यानलाई केन्द्र मान्न तयार नै भएनन् । बलबहादुरको यो योजना त्यसै तुहियो ।

तिङ्लाका सबै जनताको अर्को के पनि भनाइ छ भने, २०३१ सालमा कांगे्रसको सशस्त्र विद्रोहमा तिङ्लामै पर्ने टिम्बुरबोटे ओडारमा दर्जनौ कांग्रेस कार्यकर्ता मारिएका थिए । त्यहाँ शहीद पार्क र शहीदको सम्झनामा अरु काम गर्ने भनी कामै नगरी, बलबहादुरले करोडौं रकम हिनामिना गरेका थिए । त्यसको तिङ्लाका जनताबाट बलबहादुरको ठूलो विरोध भएको थियो । उनीहरूबाट फेरि पनि विरोध हुने भएकाले त्यसलाई रोक्न पनि बलबहादुर तिङ्लालाई आफ्नै गाउँपलिकाको मातहतमा राख्न चाहन्थे । यिनै कारणबाट बलबहादुरले तिङ्लालाई जवर्जस्तीसित नेचा सल्यान गाउँपलिकामा गाभेका हुन् ।

आफ्नो गाविसलाई पायक नै नपर्ने नेचा सल्यान गाउँपालिकामा जवर्जस्ती बलबहादुरले गाभ्दैमा तिङ्लावासी जनता त्यसलाई मान्न तयार भएनन् । तिङ्लाका सबै जनता यसको विरोधमा एकजुट भए । तिङ्लाको एक जना मात्र पनि बलबहादुरको पक्षमा देखिएनन् । सदरमुकमबाट आफ्नो गाउँ जाँदा बलबहादुरले तिङ्ला भएरै जानु पथ्र्यो । तिङ्लावासी सबै जनताले उनलाई त्यो बाटो हिड्न पनि दिएनन् । अनेकपटक ढुंगा मुडा गरी उनलाई भगाए । त्यसपछि बलबहादुर आधारातमा गाउँ र सदरमुकाम जाने आउने गर्न थाले भने कहिले निकै टाढाबाट घुमेर जान थाले । यही कारणले गर्दा तिङ्लावासी सबै जनताले नेचा सल्यान गाउँपालिकाबाट तिङ्लालाई नछुट्याएसम्म उनीहरूले कुनै पनि पदको लागि उमेदवारी पनि नदिने र त्यहाँबाट एक भोट पनि कुनै उमेदवारलाई नहाल्ने भनी सबैले सहमती गरे । यही कारण तिङ्लाका सबै वासिन्दाले स्थानीय, प्रदेश र केन्द्र समेतको तीनवटै चुनावमा एउटै भोट पनि दिएनन् । नेपाल देशभरि यसरी तीनवटै चुनावमा कसैले पनि उमेदवारी नदिएको र एउटा मात्र भोट पनि नखसालेको एक मात्र गाउँ तिङ्ला नै हो ।

बलबहादुरको गाउँ सल्यानसित जोडिएको उनको छिमेकी गाउँ तिङ्लाले यसरी विरोध गरी एउटै उमेदवारी नदिनु र एउटा भोट पनि नहाल्नुको मुख्य कारण बलबहादुरको मिचाह पन हो । उनको यही मिचाहापनकै विरोधमा तिङ्लावासी सबै जनता एकमत भएका हुन् । जम्मा २ हजार ४ सय छब्बीस जना भोटर भएको तिङ्लाका जनता सबै एक भई, कसैले उमेदवारी नदिनु, एक भोट पनि नखसाल्नु साधारण कुरा थिएन । यसको एक मात्र कारण बलबहादुर मात्र थिए । कांग्रेसको वहुमतको यो गाउँले अभूतपूर्व रुपले यसरी विद्रोह गर्दा पनि कांग्रेसको केन्द्रले चासोसम्म नलिँदा र केन्द्रबाट तिङ्लामा कोही गएर यसवारेमा कुनै जानकारी समेत नलिंदा किन यस्तो भएको भनी बलबहादुरसित स्पष्टीकरण लिने काम पनि नगर्दा, तिङ्लाका सबै जनता कांग्रेसको केन्द्रसँग पनि रुष्ट भएका छन् ।

चुनावपछि तिङ्लाबासीले विरोधलाई झन् चर्काउन लाग्दा यसलाई दूधकुण्ड नगरपलिकामा नै गाभियो भनी सरकारले घोषण ग¥यो । यसबाट त्यहाँका जनताको माग पूरा भयो । यसको भौगोलिकता र जनसंख्यालाई हेरी पूरै तिङ्लालाई दुईवटा वडा बनाउनु पर्नेमा यसलाई दूधकुण्ड नगरपलिकाको एउटा वडा मात्र गरियो । यसको समेत त्यहाँका जनताले असन्तोष प्रकट गरिरहेकै छन् । तिङ्लालाई प्रदेश नंं. (क) को दूधकुण्ड नगरपालिकामा गाभिए पनि प्रदेशको भोट भने यसले प्रदेश नं. (ख) मा नै हाल्नु पर्ने भन्ने कुरा अझै पनि खारेज भएको छैन ।

प्रदेशको भोट पनि यसले नगरपालिकाको अरु वडाले जस्तै प्रदेश नं.(क) मा नै हाल्न पाउनु पर्ने माग पनि त्यहाँका जनताको छ । तिङ्लालाई नगरपलिकामा गाभेपछि नगरपलिकाका अरु वडा सरह नै अरु वडाले जुन प्रदेशमा भोट हाल्छन्, तिङ्लाले पनि त्यसैमा भोट हाल्न पाउनुपर्छ भन्नु नाजायज होइन । आउने मंसिर महिनामा खाली रहेको सबै निकायको उपचुनाव गरिने निर्वाचन आयोगले जनाएको छ । तर मंसिरमा पनि तिङ्लाको खाली भैरहेको वडाको चुनाव नगरिने भनिए पछि तिङ्लाका जनता फेरि विद्रोह गर्नु पर्ने हालतमा पुग्न लागेका छन् । त्यहाँको वडाको चुनाव नहुँदा विकास र निर्माणका सबै कामहरू पूरै ठप्प भएका छन् । खाली रहेको अरु ठाउँमा चुनाव गराउँदा, चुनाव नै नभई नगरपालिकामा गाभिएको तिङ्लालाई पनि खाली भएको सरह मानी यसको वडाको मंसिरमा नै चुनाव गरियोस् भनी तिङ्लावासीले जोडदार माग गरेका छन् ।


सम्बन्धित समाचार