Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन् । निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव एनिभर्सरी को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा नेताबिच पारिवारिक र राजनीतिक छलफल भइरहेको छ ।
निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।सभापति शेरबहादुर देउवानिकट निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ । देउवाले प्रदेशगतरूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशनकेन्द्रित छलफल थालेका हुन् । जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरेका छन् ।‘ यो पारिवारिक भेट हो तर नेताहरू भेटेपछि राजनीतिक कुरा भैहाल्छ । महाधिवेशनबारे एक अर्काको कुरा सुन्ने सुनाउने काम भएको छ निधिनिकट स्रोतले भन्यो ।
यसअघिल्लो अघिल्लो वर्ष साउनमा निधिले कोइराला र सिंहलाई उनीहरूकै निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् । पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे । सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए ।
छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् । उपसभापति निधिले एनिभर्सरीको अवसरमा सभापति शेरबहादुर देउवालाई पनि निम्तो गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँगको छलफलकै बीचमा देउवा बूढानीलकण्ठबाट बाहिरिएका छन् । उनी वागमती प्रदेशका पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाको निवासमा पुगेका छन् । कोइरालाका पति दिनेश कोइरालाको निधनको १३ औं दिनको तिथिमा सहभागी हुन देउवा त्यहाँ पुगेका हुन् । त्यसपछि देउवा निधि निवास जाने बताइएको छ
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल