Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनले रचे प्रहरीमा इतिहास, आईजीपीको लाइनमा चार महिला

काठमाडौँ । नेपाल प्रहरीको इतिहासमा यस पटक चार महिला भोेलिको आईजीपी हुने प्रतिस्पर्धामा पुगेका छन् । यसभन्दा अगाडि विमला थापा र पार्वती थापा डिआईजी पदबाट अवकाश भएका थिए । तर त्यतिबेला वरिष्ठताका आधारमा एआईजीहरुलाई नै आईजीपी बनाइएको थियो । संयोगवश प्रहरीको यो बढुवामा आगामी चैतमा आईजीपी हुने लहरमा ती महिला अधिकृतहरु पनि पुगेका छन् जो नेपाल प्रहरीभित्र सक्षम र विवादरहित अधिकृतका रुपमा लिइन्छ । गृह मन्त्रालयले रिक्त रहेको १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरेको छ । सो सिफारिसमा चार जना महिला परेका छन् । गृह मन्त्रालयका सचिव अध्यक्ष तथा नेपाल प्रहरीका महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्यसचिव रहेको बढुवा सिफारिस समितिले २०५१ चैत ५ गते नेपाल प्रहरी निरीक्षकमा प्रवेश गरेका १३ जना र २०५२ भदौ १९ गते भर्ना भएका चार गरी १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

जसअनुसार प्रहरीमा १०८ ब्याची एसएसपीहरू वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण वज्राचार्य, सन्दीप भण्डारी, मीरा चौधरी, उमेशराज जोशी, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणालाई बढुवा सिफारिस गरिएको छ । त्यस्तै ११० ब्याचबाट चार जना एसएसपीहरू दीपक थापा, सुदीप गिरी, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् । डीआईजीमा बढुवा सिफारिस भएको यही समूहबाट आगामी चैत ११ गते नेपाल प्रहरीको ३०औँ महानिरीक्षक नियुक्त गरिनेछ ।

सिफारिसमा परेका मध्ये चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू किरण वज्राचार्य, दुर्गा सिंह, मीरा चौधरी र किरण राणा हुन् । समितिले डीआईजी बढुवा गर्दा रोलक्रम, जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकतामा राखेको भए पनि एसएसपीमा एक नम्बरमा रहेका सन्दिप भण्डारीलाई सातौं नम्बरमा झारिएको छ । नेपाल प्रहरीमा पछिल्लो समय महिला आकर्षण बढ्दो छ । हाल कुल दरबन्दी ७९ हजार ५४१ रहेकामा महिला प्रहरीको संख्या ८ हजार ३०७ रहेको छ । प्रहरीको प्रशासनतर्फ पूजा सिंह तथा प्राविधिकतर्फ आशा सिंह हाल अतिरिक्त महानिरीक्षक बनेका छन् । आगामी साउन १९ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि एक पदमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहका ब्याची डीआईजीहरू नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँबीच प्रतिस्पर्धा हुनेछ ।

यो प्रक्रियासँगै प्रहरीका जिल्ला कार्यालय प्रमुख बनेका एसएसपी, एसपी र डिएसपीहरुको पनि फेरबदल हुने भएको छ । आईजीपी धिरजप्रताप सिंहले आफ्नो कार्ययोजनालाई विवादरहित ढंगले अगाडि बढाउने गरेका छन् । उनलाई गृहमन्त्रालयबाट पनि प्राप्त सहयोगले संगठनभित्र भेदभावरहित व्यवहार देखाउन मौका मिलेको छ । यो मौकामा आईजीपी सिंह आगामी निर्वाचनको सुरक्षाको आन्तरिक तयारीमा पनि लाग्ने अवस्था सिर्जना भएको छ । किनकि सरकारले निर्वाचन आयोगले कात्तिक अन्तिम तथा मंसिर पहिलो साता निर्वाचनको मिति तोक्ने सहमति दिने तयारी गर्दैछ ।