Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेन युद्ध अन्त्य गर्न चीन अग्रसर

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणको क्रममा युक्रेनमा जारी गम्भीर संकट समाधान गर्न सि जिनपिङको १२ बुँदे योजनाबारे छलफल गर्ने बताएका छन्। यी दुई नेताहरूले एक अर्कालाई मिल्ने साथीको रूपमा सम्बोधन गर्ने क्रममा पुटिनले भने,‘हामी वार्ता प्रक्रियाका लागि सँधै तयार छौं।’ चीनले गत महिना युद्ध अन्त्य गर्ने योजनाहरू सार्वजनिक गरेको थियो। जसअन्तर्गत ‘दुस्मनी बन्द गर्ने’ र शान्ति वार्ता पुनः सुरू गर्ने योजना पनि समावेश गरिएको छ। तर, शुक्रबार अमेरिकाले चीनका योजनाहरूलाई इंगित गर्दै ती शान्ति योजना ‘अवरोधको रणनीति’ हुनसक्ने चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भने,‘युद्धलाई आफ्नै स्वार्थको लागि स्थिर पार्न चीन वा अन्य कुनै पनि देशको सहयोगमा रूसले चालेको राणनीतिक कदमबाट विश्व झुक्किनु हुँदैन।’
युक्रेनी भूभागबाट रूसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रूसको जितलाई अनुमोदन गर्न बल पु¥याउने उनको भनाइ छ। युक्रेनले वार्ताका लागि रूसी सेनाले आफ्नो भूभागबाट सेना हटाउनुलाई मुख्य सर्तको रूपमा अघि सारेको छ। यद्यपि, चीनको योजनामा त्यसबारे केही पनि जनाइएको छैन। बरू चीनले ‘सबै देशहरूको सार्वभौमसत्ताको सम्मान गर्ने’ जनाएको छ। साथै ‘सबै पक्षहरू तर्कसंगत रहन र संयम अपाउन’ र ‘बिस्तारै स्थितिलाई स्थिर बनाउँदै लग्नुपर्ने’ जनाएको छ। योजनाले रूसविरूद्धको ‘एकपक्षीय प्रतिबन्धहरू’ को निन्दा गरेको छ। जसलाई युक्रेनका पश्चिमा सहयोगीहरूको अस्पष्ट आलोचनाको रूपमा पनि हेरिएको छ। सोमबार एक सैन्य समूहले राष्ट्रपति सिलाई मस्कोमा स्वागत ग¥यो। पुटिनले ‘न्यायका सिद्धान्तहरू पालन गरेको’ र ‘हरेक देशको सुरक्षा’ बारे ध्यान दिएको भन्दै चीनको प्रशंसा गरे।
जवाफमा राष्ट्रपति सिले पुटिनलाई भने,‘तपाईंको बलियो नेतृत्वमा रूसले आफ्नो समृद्धि र विकासमा ठूलो प्रगति गरेको छ। रूसी जनताले निरन्तर तपाईंको समर्थन गर्ने मेरो विश्वास छ।’ सिको भ्रमणअघि पुटिनले चीनको पिपुल्स डेली पत्रिकमा अमेरिकाको ‘आक्रामक’ नीतिबाट दुई राष्ट्रहरू कमजोर नहुने लेखेका थिए। युक्रेनी नेताहरूले भने सार्वजनिक रूपमा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै चीनसँगको समानताबारे जोड दिइरहेका छन्। तर, उनीहरूले गोप्य रूपमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र चिनियाँ समकक्षी सिबीच बैठक वा टेलिफोन सम्पर्ककको प्रयास गरिरहेको बताइन्छ।
हाल रूसप्रति चीनको प्रविधि र व्यापार केन्द्रित समर्थन सैन्य वा तोपलगायत अस्त्र केन्द्रित बन्न सक्नेमा किएभ चिन्तित छ। ‘यदि चीनले रूसलाई खुला रूपमा हतियार आपूर्ति गर्न थाल्यो भने उ आक्रमणकारीको पक्षबाट द्वन्द्वमा सहभागी हुनेछ,’ युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषदका सचिव ओलेक्सी दानिलोभले भने। ४३ हजार किलोमिटर सीमा जोडिएको रूससँगको सम्बन्धलाई स्थिर बनाउनु बेइजिङको हितमा भएको लन्डनस्थित थिङ्क ट्याङ्क चाथम हाउनका चिनियाँ अनुसन्धाा यु जीको भनाइ छ। रूस बेइजिङको व्यापक अर्थतन्त्रका लागि तेलको स्रोत हो। यी दुई देशहरूलाई अमेरिकाविरूद्ध सँगै उभिने साझेदारको रूपमा हेरिन्छ। हालसालै इरान र साउदी अरबबीचको मध्यस्थतामा सिले सफलता हासिल गरेको र अब ती दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः सुरू भएकोबारे पनि उनले चर्चा गरिन्।
त्यसैले चीनले रूस र युक्रेनबीच मध्यस्थता गर्ने अवसर खोजेको हुनसक्ने उनको ठम्याइ छ। सोमबार साँझ सिलाई उत्तरी रूसको पेचोरा नदीको नेल्मा माछा, रूसी रक्सी, परम्परागत रूसी समुद्री खानाको सपलगायत विभिन्न परिकारसहित सत्कार गरिएको थियो। द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले रूसी राष्ट्रपति पुटिनविरूद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनमा यो भेटघाट भएको हो। अर्थात प्राविधिक रूपमा पुटिन १२३ देशहरूमा पक्राउ पर्न सक्छन्। यद्यपि चीन र रूस भने ती देशहरूको सूचीमा छैनन्। आइसिसीको घोषणालगत्तै जिनपिङको मस्को भ्रमणले, चीनले आफू युक्रेनमा भएको अत्याचारका लागि ‘क्रेमलिनलाई जबाफदेही बनाउन जिम्मेवारी नरहेको’ महसुस गर्ने संकेत गरेको ब्लिङ्कनले बताए। पश्चिमी नेताहरूले गत फेब्रुअरीमा युक्रेनविरूद्ध पूर्ण आक्रमण सुरू गरेपछि रूसलाई एक्लो पार्ने प्रयास गरिरहेका छन्। तर, चीन, भारत र केही अफ्रिकी राष्ट्रहरूले पुटिनको विरोध नगर्दा उनीहरूले विश्वव्यापी सहमति स्थापित गर्न सकेका छैनन्।