Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युट्युबरको भागभाग, थाल्यो प्रहरीले कारबाही

काठमाडौँ । वाक स्वतन्त्रताका नाममा समाज भाड्ने गरी प्रस्तुत भएका सामाजिक सञ्जालहरुलाई सरकारले नियन्त्रित र मर्यादित बनाउन थालेको छ । प्रेस काउन्सिलले गत शुक्रबार १६ युट्युबरमाथि कारबाही गर्न सूचीसहितको पत्र प्रहरीको साइबर ब्युरोमा पठाएलगत्तै आधाभन्दा धेरैले युट्युब सार्वजनिक रूपमा खोज्न नमिल्ने बनाएका छन् । साइबर ब्युरोका एक अधिकारीले धमाधम युट्युबर पक्राउ पर्न थालेपछि नाम सार्वजनिक भएका केहीले आफूले मात्रै हेर्न मिल्ने गरी ‘वन्ली मि’ गरेको वा बन्द नै गरेको हुन सक्ने बताए । भिडियो सबैले हेर्न नमिल्ने बनाएपछि ती युट्युबरमाथि कारबाहीको प्रक्रिया जटिल मोडमा पुगेको छ । नाबालिका बलात्कार प्रकरणमा कलाकार पल शाह पक्राउ परेलगत्तैदेखि केही युट्युब च्यानलले पीडितको चरित्रहत्या गर्दै भिडियो सामग्री प्रसारण गरेपछि प्रेस काउन्सिलले साइबर ब्युरोलाई पत्राचार गरेको थियो । भ्रम फैलाएको आरोपमा गत बुधबार ब्युरोले एक जना युट्युबर र युट्युबमा बोल्ने अर्का एक जनालाई पक्राउ गरेको थियो । ब्युरोले नेपाल मिडिया नामक युट्युबमार्फत भ्रम फैलाएको र अनर्गल वक्तव्यबाजी गरेको आरोपमा नागार्जुन–८ का ५३ वर्षीय हरि उदासी (हरि परियार) लाई पक्राउ गर्‍यो । सोही दिन विशाल नेपाल नामक युट्युब चलाउने लमजुङ राइनस घर भई तारकेश्वर–४ बस्ने २७ वर्षीय निसान चिलवाल पक्राउ परे । त्यसभन्दा अघि प्रहरीले गत सोमबार क्लेब नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्ने बुटवल–१३ रूपन्देहीका २१ वर्षका राहुल थापालाई पक्राउ गरेको थियो । यी युट्युब सञ्चालक र अर्का एक जना पक्राउको पृष्ठभूमिमा कलाकार पल शाह नाबालिकामाथि बलात्कार र यौन हिंसाको आरोपमा पक्राउ परेको घटना जोडिएको छ ।
साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८–७९ मा युट्युबमार्फत मानहानि र चरित्रहत्यालगायत आरोपमा ११ युट्युब च्यानलमाथि मुद्दा दर्ता भएको देखिन्छ । २०७५ जेठमा नेपाल प्रहरीको साइबर ब्युरो स्थापना भएपछि हालसम्म १९ युट्युबर पक्राउ परेको देखिन्छ । युट्युबरमाथि नियमन र नियन्त्रणको कुरा उठिरहे पनि साइबर ब्युरो स्थापना भएदेखि नै मौजुदा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कैयन् उजुरी परिरहेको देखिन्छ । २०७५ जेठमा ब्युरो स्थापना भएयता हालसम्म ८८ युट्युबरमाथि साइबर अपराधको उजुरी परेको छ । ब्युरोका अनुसार अधिकांश उजुरीमा चरित्रहत्या, मानहानि, भ्रमपूर्ण तथ्यको प्रचारलगायतका आरोप छन् । ब्युरोले आर्थिक वर्ष २०७८–७९ मा मात्रै युट्युब च्यानलका माध्यमबाट भएका अपराधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरेको देखिन्छ ।
पल शाह पक्राउ प्रकरणअघि पनि साइबर ब्युरोले कैयन् युट्युबरलाई पक्राउ गरेको थियो । फागुन ४ मा प्रहरीले नेपाली फ्र्यांकस्टार्स नामक युट्युब च्यानल चलाउने झापा बिर्तामोड–४ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाईंलाई पक्राउ गरेको थियो । पुस १२ मा भने प्रहरीले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलका सञ्चालक अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको थियो । मंसिर २६ मा भने प्रहरीले टेन्सन ब्रो नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाएको आरोपमा बूढानीलकण्ठ–४ बस्ने २१ वर्षीय भरतबहादुर तिरुवालाई पक्राउ गरेको थियो । यसअघि प्रहरीले असोज १३ मा एकै दिन चार युट्युबरलाई पक्राउ गरेको थियो । ब्युरोले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण राखेको भन्दै ‘दैनिक खबर’ युट्युब च्यानलका सञ्चालक गोकर्णेश्वर बस्ने २१ वर्षका प्रदीप भण्डारी, ‘हरेक पलको खबर’ नामक युट्युब च्यानलका सञ्चालक काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, ‘सिराइचुली मिडिया’ युट्युब च्यानलका सञ्चालक ३५ वर्षीय पिंकला कार्की र ‘मोडर्न अनलाइन टीभी’ का सञ्चालक गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ परेका थिए ।