Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यूएईका जेलमा ४७३ जना नेपाली, के के छ अभियोग ?

यूएई । सुन्दर भविष्यका लागि रोजगारीमा गएका हजारौं युवाहरु विभिन्न कारणले विदेशी जेलमा थुनिएका छन् । संयुक्त अरब इमिरेट्स यूएईका विभिन्न जेलहरूमा हाल ४७३ जना नेपाली कैदीबन्दी रहेका छन् । यो संख्या हालसम्मकै बढी हो । जेलमा परेका कतिपय नेपालीले समय समयमा आममाफी पाएर स्वदेश फर्किने गरेको र जेलमै रहेका नेपाली नागरिकको सहयोगका लागि दूतावासले कानुनी सहायता प्रदान गर्न कानुनी सहयोगी नियुक्ति प्रक्रिया सुरु गरिसकिएको र नियुक्तिपछि कानुनी सहयोग गर्न थप सहज हुने यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बताए । दूतावासका अनुसार कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, जाँड,रक्सी सेवन, घरेलु विवाद, अवैध बसोबास, आर्थिक लेनदेन तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पनि नेपालीहरू जेल जीवन बिताइरहेका छन् । यसरी जेल पर्नेमा ३६ जना महिला र ४ सय ३७ जना पुरुष छन्। यूएईका विभिन्न जेलमा रहेका नेपालीको अवस्था र उनीहरूलाई प्रदान गर्न सकिने कानुनी सहजीकरणका लागि भन्दै नेपाली दूतावास आबुधावी हालै यहाँका सातैवटा राज्यका विभिन्न जेलसम्म पुग्ने अभियान सुरु गरेको र हाल सम्म विभिन्न ३ वटा जेल भ्रमण गरिसकिएको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रन्जिता दाहालले बताइन। दूतावासका अनुसार दुबईका विभिन्न चौकी तथा सुधार गृहमा सबै भन्दा धेरै १९ महिला र २७० जना पुरुष कैदी जीवन बिताई रहेका छन् भने दुबईकै सेन्टरजेल अल अबिरमा १ महिला सहित ४५ जना नेपाली नागरिक छन्। त्यस्तै आबुधावी सेन्टर जेलमा ६ महिला सहित ६१ पुरुष, अलऐनमा १ महिला र ३ जना पुरुष तथा आबुधाबीकै जेलको केयर सेन्टरमा १ महिला र सुधार गृहमा ५ जना पुरुष जेल जीवन बिताई रहेका छन्। त्यस्तै यूएईको सारजाह जेलमा ७ जना महिला सहित १६ जना पुरुष , रसअलखेमा राज्यमा रहेको जेलमा १ जना महिला सहित १५ पुरुष , अजमानमा रहेको जेलमा ७ जना पुरुष कैदी जीवन बिताइरहेका छन् । त्यस्तै सबै भन्दा थोरै नेपाली कार्यरत रहेको मानिने उम्मलक्वीन राज्यको जेलमा ६ जना पुरुष जेलमा छन्। त्यस्तै फुजेराहमा रहेको जेलमा ९ जना नेपाली पुरुषले कैदी जीवन बिताइरहेको नेपाली दूतावास अवुधावीले जनाएको छ ।

के के छन् अभियोग ?
कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । यूएईमा लागूऔषध सम्बन्धी कानुन अत्यन्त कडा छ । सानो मात्रामा समेत सेवन वा ओसारपोसारको अभियोग लागेमा लामो जेल सजाय भोग्नु पर्ने हुन्छ । त्यस्तै, सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने वा अनुमति बिना मदिरा बेचबिखन गर्ने, जाँड रक्सी खाएर एक आपसमा झै झगडा गर्ने, कुटपिटमा संलग्न हुने धेरै नेपाली यसरी जेल पर्न पुगेका दूतावासले जनाएको छ । नेपाली दूतावास अबुधाबीले बारम्बार सूचना जारी गर्दै यूएईमा बसोबास गर्ने नेपालीलाई कानुन पालना गर्न आग्रह गर्दै आएको छ। सामाजिक संघसस्थाले यस सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि जानकारीको कमी, आर्थिक तथा सामाजिक दबाब र अन्य कारणले कतिपय नेपाली अपराधमा संलग्न हुने वा फस्ने गरेका छन् । पछिल्लो समय आर्थिक प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडि अर्कैलाई दिएर बैंक बाट ऋण लिने, आफ्नो खातामा अवैध रकम भित्राउने, विभिन्न अनलाइन अवैधानिक आर्थिक गतिविधिमा संलग्न हुने, टेलिग्राम जस्ता माध्यम मार्फत अवैधानिक आर्थिक कारोबार गरेको आरोपमा पनि कतिपय नेपाली जेल जीवन बिताइ रहेका छन् । दूतावासले जेलमा रहेका नेपालीलाई नियमित भेटघाट गर्दै आवश्यक कानुनी सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको भए पनि कैदीहरूको संख्या बढ्नु चिन्ताजनक रहेको बताइएको छ । यसै सन्दर्भमा यहाँ सक्रिय विभिन्न सामाजिक संघसस्था तथा प्रवासी संगठनहरूले पनि यूएईमा रहेका नेपालीलाई सचेत रहन, अनुशासनमा बस्न र कुनै पनि अवैध क्रियाकलापमा नलाग्न अनुरोध गर्दै आएका छन्। यूएईका विभिन्न जेलमा दूतावासका तर्फबाट उपनियोग प्रमुख दाहाल , दुबई स्थित महावाणिज्य दूतावासका उप महावाणिज्यदूत कृष्णप्रसाद चापागाईँ , श्रम सहचारी पंकज लाभ कर्ण, दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार सहित स्थानीय जनसम्पर्क अधिकृतहरू दूतावासका प्रतिनिधिका रूपमा विभिन्न जेलमा पुगेको दूतावासले जनाएको छ । हाल सम्म यूएईका ३ वटा जेल भ्रमण गरिसकेको दूतावासले अन्य जेल पनि क्रमशः पुग्ने योजना बनाएको छ । साथै जेल भ्रमणमा त्यहाँ रहेका नेपाली सँग भेटघाट तथा कानुनी सहायता बारे स्थानीय प्रशासनका अधिकारीहरू सँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल