Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएका थप प्रकरणको अनुसन्धान पनि प्रहरीले सुरु गरेको छ। बुटवलको सुप्रिम सहकारी र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाएको हो। देशका प्रमुख सहरहरूमा खोलिएका जीबी राई नेतृत्वका पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ गैरकानुनीरूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको छ। यी पाँच सहकारीमध्ये चारवटामा केही प्रतिवादीविरुद्ध अदालतमा नै मुद्दा दायर भइसकेका छन्। तर ती कुनै पनि मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन। अहिले भने प्रहरीले यसअघि मुद्दा दायर भइसकेकामा पूरक अभियोगपत्र अदालत लैजाने तयारी गरेको छ भने जाहेरी परेर पनि अनुसन्धान नै नगरी राखिएका फाइलसमेत अहिले खोलेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पक्राउ पुर्जी जारी भइसकेको छ। यस्तै जीबी समूहकै चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको पनि अनुसन्धानको क्रममा रहेकाले यसमा पनि लामिछाने तानिने भएका छन्। वीरगन्जको सानो पाइला सहकारीबाट ८ करोड बढी गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय छानबिनले देखाएको छ। यस प्रकरणमा दोस्रो चरणको अनुसन्धानमार्फत अब रवि लामिछाने, छविलाल बन्जाडेसहितलाई प्रतिवादी बनाउने प्रहरीको तयारी छ। जीबी राईलाई पहिलो चरणमै प्रतिवादी बनाइए पनि उनी फरार छन्। यस्तै पक्राउ परेका सानो पाइलाका पूर्वउपाध्यक्षसहितका प्रतिवादीहरू पनि धरौटीमा रिहा भएका थिए। एकपछि अर्को प्रकरणको अनुसन्धान अघि बढेपछि लामिछानेको हिरासत बसाइँ लम्बिने सम्भावना बढेको हो। कास्की प्रहरीले अनुसन्धान सकेपछि बुुटवल लैजाने तयारी छ। त्यहाँ सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमतिसमेत लिइसकेको छ। अदालतले अनुमति दिइसकेकाले अब प्रहरीले कास्कीको अनुसन्धान सकिएपछि बुटवल झिकाउने तयारी गरेको छ। सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष बन्जाडेलाई बुटवल लगेर बयान गराइसकिएको छ। अब रविलाई पनि झिकाउने इलाका प्रहरी कार्यालय, बुटवलको तयारी छ। उता रुपन्देही प्रहरी पोखरास्थित सूर्यदर्शनको अनुसन्धानको प्रतीक्षा गरिरहेको छ। बुटवलमा पनि पहिलो चरणको अनुसन्धान सकिएर जीबी भन्ने गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकिएको छ। तर मुद्दा दायर गर्दा गृहमन्त्री रहेका लामिछानेलाई भने प्रतिवादी बनाइएको थिएन। पहिलो चरणकै अभियोगपत्रमा रविका नाममा २ करोड रुपैयाँ गैरकानुनी तवरले रकम प्रवाह भएको विवरणचाहिँ खुलाइएको छ। अब दोस्रो चरणमा उनीविरुद्ध पूरक अभियोगपत्र लैजाने प्रहरीको तयारी छ। त्यहाँ पनि रविलाई सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुनेछ। रविले आफ्ना निकटस्थहरूलाई विभिन्न भूमिकामा संलग्न गराई संगठित तवरले रकम ठगी गरेको आरोप प्रहरीको छ। यस्तै, सबद्ध कसुरका रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि रवि लामिछानेमाथि अनुसन्धान हुने भएको छ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल