Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविले समितिमा भने, पाँच लाख तलब खाएँ, पैसा कहाँबाट आयो थाहा भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग सहकारी विशेष छानबिन गर्न बनेको संसदीय समितिले बयान लिएको छ। समितिले शुक्रबार दिउँसोदेखि राति १ बजेसम्म ९ घण्टा बयान लिएको हो। विभिन्न तथ्य र प्रमाणका आधारमा लोमो समय बयान लिनुपरेको सहकारी समितिका एक सदस्यले खबरहबलाई जानकारी दिए। समितिका ती सदस्यले रविले सोचेजस्तो जीबी राईका विषयमा बयान नदिएको बताइएको छ। शुक्रबार दिउँसो ३ बजेपछि सुरु भएको बयान राति १ बजे टुंगिएको थियो। त्यसपछि एक घण्टा बयानमा भएको पत्र पढेर रविले सुनाउन लगाएका थिए। रविले आफूले दिएको बयानको पत्र पत्रमा भएका कुराहरू निकै गहन रहेको भन्दै रेकर्डमा पढेको पत्र राख्न समेत सुझाव दिएका थिए। त्यसभन्दा पहिले जीबी राई र रवि लामिछानेसँग पार्टनर गरेका पूर्व डिआइजी छवि जोशीसँग समितिले बयान लिएको थियो। जोशीसँग दिउँसो १२ बजेदेखि समितिले बयान लिएको हो। चार घण्टासम्मको बयानमा छविले जीबी राईलाई पोलेका थिए।
रविले बयानका क्रममा आफूले कुनै पनि रूपले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन्। समितिका एक सदस्यले खबरहबसँग कुराकानीमा भने, ‘मलाई जीबी राईको सहकारी थियो भन्ने समेत जानकारी थिएन। उनीसम्पत्ति भएको मान्छे नै होला भन्ने लागेको थियो कहाँ के सहकारी छ भन्ने थाहा थिएन। सहकारीको पैसाले गोरखा मिडिया नेटवर्क चलाएको भन्ने पनि मलाई थाहा भएन। मलाई कुनै जानकारी थिएन। मलाई मासिक रूपमा पाँच लाख तलब र १५ प्रतिशत सेयर दिने भनेर लगिएको हो। मैले सेयरमा समेत लगानी गरेको छैन। जीबी आफैले मलाई तलब स्वरूप सेयर १५ प्रतिशत दिएका हुन्। पाँच लाख तलब दिन्थे म लिन्थेँ। एउटा कामदारले पैसा पाएपछि कहाँबाट ल्यायो ? किन ल्यायो ? कसरी ल्यायो भन्ने सोधपुछ गर्ने कुरा नै भएन। कहाँबाट उनको पैसा आउँथ्यो, त्यो मैले सोध्ने कुरै भएन। उनले आफ्नो नाममा लिएको एक करोड ऋण समेत स्वीकार गरेका छैनन्। ऋण लिएर तिरिसकेको भए पनि उनले यो ऋण आफूले नलिएको दाबी गरेका छन्। उनले भने, ‘मलाई यो ऋण लिएको पनि थाहा छैन र तिरेको पनि थाहा छैन। नयाँ खाता खोलेर जीबी राईले नै ऋण लिइदिएछन् मलाई त पत्तै भएन। फेरि यो नक्कली नाममा ऋण लिएको भन्ने त प्रमाणित भइसकेको छ नि ?’ उल्टै उनले आफै ऋण लिएको कुरा नक्कली भएको प्रमाणित भएको दाबी गरे। ‘गृहमन्त्री हुँदा जीबीलाई खोज्दै थिएँ, सरकारले लुकायो’, रविले थप भनेका छन्। उनले आफू रास्वपाको सभापति भइसकेपछि जीबीसँग खासै बोलचाल र भेटघाट नभएको दाबी गरेका छन्। तर अन्तिमपटक बोलचाल र भेटघाट बारे उनले खुलेर भनेका छैनन्।
यस्तै आफू गृहमन्त्री हुँदा जीविलाई खोज्न पटकपटक पहल गरेको र मलेसियाको गृहमन्त्री मार्फत पनि जीबीलाई पक्रन खोजे पनि सरकारमा भएका अन्य व्यक्तिले सहयोग नगरेको आरोप लगाएका छन्। उनले भने, मैले खोज्दै थिए सरकारले लुकायो। गृहमन्त्री हुँदा जीविलाई जसरी पक्राउ गर्ने आश्वासन दिएका रविले नै समितिको बयानमा अरुले जीबीलाई भगाएको आरोप समेत लगाएका छन्। रविले जीबी राई मलेसियामा नै भएको कुरा ठोकुवा समेत गरेका छन्। यस्तै उनले गृहमन्त्री रमेश लेखकलाई जीबीलाई पक्रिएर ल्याउनका लागि चुनौती समेत दिएका छन्। समितिका अर्का सदस्यले खबरहबसँग भने, यो सरकार साँच्चिकै काम गर्छ भने जीबी राईलाई पक्रेर ल्याएर देखाओस्। मैले पक्रिन खोज्दा केही साथीहरु मिलेर नै जीबी राईलाई भगाएको पाइयो। उनी मलेसियामा छन् यो एउटा प्रमाण पनि हो।
यसअघि समितिको बयानमा आएका व्यक्तिले रवि र जीबी राईलाई पटकपटक पोलेको समिति सदस्यको भनाइ छ। समिति सभापति सूर्य थापाका अनुसार रवि लामिछानेले कुनै पनि हिसाबमा आफू सहकारीको रकम अपचलन प्रकरण नबुझेको बताएका छन्। उनलाई आफ्ना नाममा भएका सहकारी र गोरखा मिडियाको कारोबार पनि किर्ते भएको दाबी गरेका छन्। यसअघि समितिले बयान लिएका दिपेश पुन रोशनी गुरुङ लगायतका व्यक्तिहरूले पनि रविको नाम लिएको समिति सदस्यको दाबी छ।