Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविसँग किन टुट्यो खरेलको मायाप्रेम ?

काठमाडौं । नेता बन्ने हुटहुटीमा रहेका पूर्व प्रहरी वरिष्ठ अधिकारी रमेश खरेलको यात्राले सहज राजनीतिक छहारी भेट्न सकेको छैन । गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका रमेश खरेलले वर्ष दिन नपुग्दै पार्टी छाडेका छन्। खरेलले एक साताअघि एक टेलिभिजन कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेका थिए। गृह मन्त्रालय लिएर रविले अनैतिक कार्य गरेको खरेलको टिप्पणी थियो। त्यसपछि उनलाई रास्वपाले रविको आलोचना गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको जवाफ दिनुभन्दा बरु पार्टीबाटै राजीनामा दिन्छु भनेर उनले ईमेलमार्फत पार्टी छाडेको पत्र पठाएका हुन्। खरेल नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक डीआईजी हुन्। स्पेस फोरके टेलिभिजनको कार्यक्रम ‘जनता जनार्दन’ चलाइरहेका खरेलले सभापति लामिछानेविरुद्ध सहकारी ठगीको उजुरी रहेकोले मन्त्री पदमा बस्न नहुने बताएका थिए। खरेलले निकै आक्रोशित मुद्रामा रविविरुद्ध अभिव्यक्ति दिएको सुनिन्छ। त्यसका लागि उनले नेपाली उखानको सहारा पनि लिएका छन्। कार्यक्रमको सुरुबाटै सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल मन्त्री बनेकोमा रमेशले आपत्ति जनाएका छन्। उनले लामिछानेमाथि वैकल्पिक शक्तिका नाममा जनता झुक्याएको आरोप पनि लगाएका छन्। उनले रवि लामिछाने र डोलप्रसाद अर्याल मन्त्री बन्नै नहुने तर्क पटकपटक दोहोर्‍याएका छन्। खरेलले वैकल्पिक शक्तिलाई निमोठ्ने कार्यमा रवि लागेको भनेका छन्। खरेलले वैकल्पिक शक्तिको नाममा रविले रवीन्द्र मिश्र र डा. बाबुराम भट्टराईको बाटो समातेको टिप्पणी गरेका छन्।