Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वैकल्पिक शक्तिको खोजी युवा पुस्ताले गरिरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र वर्तमान मन्त्री कुलमान घिसिङ पार्टी खोल्न कस्सिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकारी सभापति दिन अस्वीकार गरेपछि कुलमान घिसिङले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि अलग्गै दल दर्ता गर्ने भएका छन्। तर, अहिले नै सो पार्टीको नेतृत्वमा घिसिङ हुने छैनन्। चुनावको केही समयअघि मात्र उनले आफ्नो उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने छन्। हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ता गर्न लागेका हुन्। शुक्रबारसम्म निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिइने घिसिङनिकट जीतराम वाइबाले नेपालखबरलाई जानकारी दिए। उज्यालो नेपाल पार्टी घिसिङकै भिजनमा खुलेको उनले दाबी गरे। यद्यपि, दल दर्ता गर्दा राखिने संयोजकमा उपाध्यायबाहेक अन्य दुई जनाको पनि नाम छलफलमा आएको उनले बताए। उपाध्यायले घिसिङसँगै २०७४ सालमा गणतन्त्र दिवसको अवसरमा सरकारबाट सुप्रबल जनसेवाश्री पदक पाएका थिए। रास्वपासँग कुरा नमिलेपछि नयाँ दल खोल्ने निचोडमा पुगिएको वाइबाको दाबी छ। उनका अनुसार रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वार्णिम वाग्ले, शिशिर खनालसँग कुलमान घिसिङको प्रत्यक्ष, फोन र एसएमएसमा कयौँ पटक कुराकानी भएको छ। वाग्ले र घिसिङबीच एक्लाएक्लै पनि वार्ता भयो। गत १० दिनयता घिसिङ आफैँले छलफल गरे पनि समझदारी जुट्न सकेन। जसमा घिसिङका तर्फबाट तीन वटा प्रस्ताव प्रस्तुत भएको रास्वपाको उच्चस्तरीय वार्ता कमिटीमा रहेका नेताहरूले बताए। पहिलो, रास्वपाका सभापति थुनामा भएकाले उनले क्लिन चिट नपाएसम्म कुलमानलाई कार्यकारी सभापति बनाउनुपर्ने। दोस्रो, रास्वपा नाममा कतै न कतै ‘उज्यालो’ शब्द राख्नुपर्ने। तेस्रो, रास्वपाको केन्द्रीय संरचनामा घटीमा ३० देखि बढीमा ५० प्रतिशत हिस्सा पाउनुपर्ने। काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह, रास्वपा छोडेकी सुमना श्रेष्ठ, जेनजी प्रतिनिधि सुदन गुरुङ लगायतको समर्थन पाएका घिसिङ रास्वपाले पार्टीको कार्यकारी सभापति आफूलाई दिनुपर्ने अडानबाट टसमस नभएको उनीहरूको भनाइ छ। आफूहरूले सभापति छोड्न नसकिने तर उपसभापति लिएर पार्टीमा जोडिन गरेको आग्रहमा घिसिङ र उनको समूह तयार नभएको प्रवक्ता मनीष झा बताउँछन्। फूल ओछ्याएर स्वागत गर्छौं भन्दाभन्दै पनि घिसिङ नआएको सहप्रवक्ता गणेश पराजुलीले दाबी गरे। विस्तारित बैठकपछि रास्वपाले एजेन्डा बनाएर चुनाव केन्द्रित कार्यक्रम ल्याउने सहप्रवक्ता पराजुली बताउँछन्। रास्वपाको शुक्रबार र शनिबार चितवनमा केन्द्रीय समितिको विस्तारित बैठक राखिएको छ। नेताहरूको दाबी अनुसार घिसिङलाई मिसाउन सके शक्ति झन् बढ्ने देखेरै रास्वपाले डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले र शिशिर खनाल जस्ता प्रभावशाली नेतालाई वार्तामा खटाएको थियो। उनीहरूले सिधै कुलमान घिसिरूसँगै संवाद गरे। शनिबार र आइतबार पनि उनीहरूबीच भेटवार्ता भयो।
तर, बार्गेनिङ गरेको हुनसक्ने भन्दै आफूहरू मिलेर जान सकिएला भनेर विभिन्न हिसाबले संवादमै रहेको ती नेताले जानकारी दिए। ‘कार्यकारी सभापति नै बटमलाइन भन्नुभएकोले त्यसबाट तल बस्ने उहाँले रुचि देखाउनुभएको छैन,’ ती नेताले थपे। तथापि, नयाँहरू सबै मिलेर जानुपर्ने घिसिङको कुरा रहेको जीतराम वाइबा दाबी गर्छन्। २०७९ असार ७ गते खुलेको रास्वपाले सोही वर्षको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा २० सांसद जितेको थियो। अहिले देशका ७५ वटा जिल्लामा र सबै प्रदेशमा समिति बनाएको, वडासम्मै पार्टीको संगठन विस्तार गर्दै गरेको, पछिल्ला दिन प्रायः युवामाझ लोकप्रिय देखिएको पार्टीको नेतृत्व दाबी गर्ने अवस्थामा कुलमान कसरी पुगे । रास्वपाका नेताहरू काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको साथ र समर्थन पाएर घिसिङमा महत्वकांक्षा बढेको हुनसक्ने बताउँछन्। नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न बालेनका सहयोगी कुमार बेन गएका थिए। नयाँ शक्तिहरू मिलेर एउटै दल बनाउनुपर्ने भन्दै लामिछानेलाई सभापति छोड्न र कुलमानलाई बनाउन उनले आग्रह गरेका थिए। बालेनकै सचिवालयकै टोलीले रास्वपाका शीर्ष नेतासँग कुरा गर्दा पनि घिसिङसँग मिलेर जान सुझाव दिएको थियो। उनीहरूले पनि रवि लामिछानेले सभापति छोड्नुपर्ने सर्त राखेका थिए। तर, रविले सभापति छोड्नुपर्ने कारण नरहेको रास्वपाले बताउँदै आएको छ। त्यही भएर घिसिङ नयाँ दल खोलेर जाने निचोडमा पुगेका छन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल