Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ ।अरुलाई विधि र पद्दतिको कुरा सिकाउने रवि लामिछाने आफैं विधि पद्दतिमा चल्न नसक्दा ठूलै समस्यामा फस्ने संकेतदेखिएको छ ।  प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढाएको छ । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान सुरु गरेको हो । लामिछानेको नागरिकता विवादसम्बन्धी विषयलाई केही साताअघि गृह मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि गृहले उजुरीमा भएका विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको थियो । त्यही उजुरीमाथि अनुसन्धान गर्न काठमाडौं प्रशासनले बिहीबार काठमाडौं परिसरलाई निर्देशन दिएको हो । लामिछानेले आफूले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको बताएका छन् । तर, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउन कानुनी प्रक्रिया नअपनाई पुरानै नागरिकता प्रयोग गरेको तर उनी नेपाली नागरिक भइनसकेको भन्दै निर्वाचन आयोगमा पनि उजुरी परेको थियो । पुरानै नागरिकताका आधारमा लामिछानेले आफू अध्यक्ष रहेर निर्वाचन आयोगमा रास्वपा दल दर्ता गर्नेदेखि प्रतिनिधि सभामा चितवन–२ बाट मा विजयी भइसकेका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले लामिछानेको नागरिकतासम्बन्धी विषयमा अनुसन्धान सुरु भएको बताए । नागरिकता विवाद सतहमा आएपछि लामिछानेले निर्वाचनअघि कान्तिपुरसँगको कुराकानीमा आफूले २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा नगएको बताएका थिए । तर, विदेशी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता प्राप्तका लागि पहिले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्छ । तर, उनले अमेरिकी नागरिकता त्यागेपछि त्यस्तो निवेदन प्रशासनमा नदिएको गृह मन्त्रालय स्रोत बताउँछ ।


सम्बन्धित समाचार