Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि–स्वर्णिम वार्ता : बालेनसँगको समन्वय बढाउन सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकको थानी रिसोर्टमा भएको २४ घण्टे भेटवार्ताले पार्टीभित्र देखिएको समन्वय अभाव र सरकार सञ्चालनबारे उठेका प्रश्नलाई केन्द्रमा ल्याएको छ। दुई नेताले प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री वाग्लेबीच देखिएको दूरी, सरकारको कार्यशैली तथा पार्टी व्यवस्थापनबारे विस्तृत छलफल गरेका हुन्।

रास्वपा स्रोतका अनुसार भेट पूर्वनिर्धारित थियो। अर्थमन्त्री वाग्लेको लगानी रहेको रिसोर्टमा भएको छलफलमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच पछिल्लो समय देखिएको असमझदारी मुख्य विषय बनेको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले बजेट निर्माण प्रक्रिया, कर नीतिमा पर्याप्त समन्वय नभएको र उद्योगी–व्यवसायीसँग भएका छलफलका क्रममा आएका गुनासाबारे सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि लामिछानेले वाग्लेसँग भेट गरी प्रधानमन्त्रीसँग नियमित समन्वय गरेर अघि बढ्न सुझाव दिएका हुन्।

रविनिकट स्रोतका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउने विषय भने छलफलमा उठाएका थिएनन्। ‘प्रधानमन्त्रीले केही विषयमा असन्तुष्टि राख्नुभएको हो, तर मन्त्री परिवर्तन गर्ने कुनै योजना छैन,’ स्रोतले जनाएको छ।

वाग्लेले भने मन्त्रालयको अधिकारक्षेत्रभित्रका कतिपय निर्णय तत्काल लिनुपर्ने भएकाले हरेक विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सम्भव नहुने धारणा राखेका थिए। उनले प्रधानमन्त्रीले पनि अर्थ मन्त्रालयसँग सम्बन्धित केही विषयमा आफूलाई जानकारी नदिई निर्णय गरेको उल्लेख गर्दै त्यसलाई ठूलो विवादका रूपमा नलिएको बताएका थिए।

छलफलका क्रममा लामिछानेले सरकार प्रभावकारी बनाउन प्रधानमन्त्री र अर्थमन्त्रीबीच सहकार्य आवश्यक रहेको बताएका थिए। स्रोतका अनुसार उनले व्यक्तिगत असमझदारीभन्दा संस्थागत समन्वयलाई प्राथमिकता दिन आग्रह गरेका थिए।

दुई नेताबीच पार्टी संगठनबारे पनि छलफल भएको थियो। आगामी दिनमा मनोनयन गरिने केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा पदाधिकारी चयनका विषयमा प्रारम्भिक संवाद भएको स्रोतको दाबी छ।

स्वर्णिम वाग्लेले पार्टीभित्र दोहोरो जिम्मेवारी कम गर्दै संगठनलाई सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए। स्थानीय तह र प्रदेश निर्वाचन नजिकिँदै गएको सन्दर्भमा जिम्मेवारी सन्तुलित रूपमा बाँडफाँड गर्नुपर्ने उनको धारणा रहेको बताइएको छ।

पछिल्लो समय प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच सम्बन्ध बिग्रिएको तथा वाग्लेलाई हटाएर नयाँ अर्थमन्त्री ल्याउने चर्चा सार्वजनिक भए पनि रास्वपा स्रोतले त्यसलाई आधारहीन दाबी गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले कार्यशैली सुधारका विषयमा विभिन्न मन्त्रीबारे समय–समयमा सभापति लामिछानेसँग छलफल गर्दै आएका छन्। तर अहिले अर्थमन्त्री परिवर्तन गर्ने कुनै निर्णय वा तयारी नभएको दाबी गरिएको छ।

रास्वपा नेतृत्वले सरकारको कार्यकाल पूरा गर्ने लक्ष्यसहित प्रधानमन्त्री र मन्त्रीहरूबीच समन्वय थप प्रभावकारी बनाउने प्रयास जारी रहेको जनाएको छ। पार्टी स्रोतका अनुसार पछिल्ला विवाद समाधान गर्दै सरकार र संगठन दुवैलाई एकैसाथ मजबुत बनाउने रणनीतिमा नेतृत्व केन्द्रित छ।