Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा फेरि बढ्यो कोरोनाको संक्रमण

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएको बन्दाबन्दी खुकुलो पारेसँगै कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो । निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।
जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ । उनका अनुसार सधैँ लकडाउन गरेर पनि सम्भव हुँदैन केन्द्र सरकारले सक्दो छिटो सबै नागरिकलाई खोपको व्यवस्था गर्न आवश्यक छ । खोप ल्याइसकेपछि पनि बढी आवश्यकता भएको र मानिसको बढी भीड भएको स्थानमा प्राथमिकता हेरी प्रभावकारीरुपमा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । कामपाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार अहिले परीक्षणका लागि नागरिक केन्द्रसम्म पनि आउँदैनन् । परीक्षणभन्दा पहिले नागरिकले खोपको माग गरेका छन् ।
कामपाले हालसम्म सात प्रतिशत नागरिकले मात्रै खोपको दुवै मात्रा लगाएको जनाएको छ । पहिलो मात्रा लगाउने नागरिक १६ प्रतिशत रहेका भए पनि त्यसको आधाभन्दा कम नागरिकले मात्र पूर्ण खोप लगाएका छन् । देशको अन्य शहरको तुलनामा जनघनत्व बढिरहेकाले यहाँ खोप अभियानलाई छिटो र प्रभावकारीरुपमा अघि बढाउनुपर्ने कामपाको भनाइ छ । परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
हालसम्म कामपामा ६९ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ७४३ सक्रिय सङ्क्रमित छन् । त्यसैगरी हालसम्म ६६ हजार २९६ यस रोगबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणकै कारण ५०३ ले ज्यान गुमाएका छन् । कामपामा हाल रहेका सङ्क्रमितमध्ये दुई हजार ५८९ होम आइसोलेशनमा छन् भने ३९ जना संस्थागत आइसोलेशनमा र ११५ ले अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि कामपाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरे अनुरूप क्षमता बढाउन आवश्यकपर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि अस्पतालसँग सम्झौता गरी नागरिकको उपचारमा सहजीकरण गरेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल