Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक दल र जातिय संगठन नै जातिय विभेदका पक्षमा

नेपाली समाजमा विद्यमान सामाजिक विभेदका विरुद्ध चलचित्र बनेको छ । वेदप्रसाद भुर्तेलले निर्देशन गरेको नेपाली समाजको यथार्थ कथा समेटिएको चलचित्र ‘नदेखिएको जात’को प्रदर्शन हुन सकिरहेको छैन । अफिसर, संजोग, कुर्वान, इन्काउण्टर आदि चलचित्रको निर्देशन गरिसकेका निर्देशक भूर्तेल अन्तरजातीय बिबाह गरेकै कारण बिगत १२, १५ वर्षदेखि आफ्नो गृह प्रवेश गर्न सकिरहेका छैनन् । चलचित्र नदेखिएको जात र जातीय बिभेदको बारेमा निर्देशक वेदप्रसाद भूर्तेलसंग ताजाखबर साप्ताहिकको लागि गरेको संक्षिप्त कुराकानीः

० पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
जातीय विभेद र अन्तरजातीय बिबाह सम्बन्धी चलचित्र नदेखिएको जात निर्माण गरेको छु त्यसैको प्रदर्शनको लागि दौडधुप गरिरहेको छु ।

० जातीय छुवाछूतको अन्त्य भएको होइन र ?
राज्यले जातीय छुवाछुतको अन्त्य गरे पनि व्यवहारमा लागू हुन सकेको छैन । दूरदराजको कुरा छाडौं सहरिया, शिक्षितहरू नै यो कुरा मान्न तयार छैनन् । यस्तो अवस्थामा पीडितहरू जो दलित भएकै कारण अमानवीय व्यवहार सहँदै आएका छन् । यस्तै विषयमा अन्तरजातीय विवाह सम्बन्धी मार्मिक र चेतनामूलक चलचित्र ‘नदेखिएको जात’ निर्माण तथा निर्देशन गरेको हुँ ।

० तपाईको जिल्लामा उपचुनाव हुदैछ नव उम्मेदवारहरूबाट के चाहना गर्नु हुन्छ ?
ईलाम जिल्ला क्षेत्र नम्बर २ मा हुन गैरहेको यो पटकको चुनावमा आफ्नो अमुल्य मतदान गर्ने अवसर, समाजमा परिवर्तन ल्याउन महान क्रान्तिकारी सोच भएका युवा आफ्नो मन भावना पीडा समानता बुझ्न सक्ने नेता, पार्टी र दलको आवश्यकता रहेको छ । जसले हामी जस्ता अन्तरजातीय बिबाह गरेकै कारण समाजबाट अपहेलित र अमानविय व्यबाहरको अन्त्य गर्न पहल होस् भन्ने चाहन्छु ।

० जिल्ला नै छाडेर हिंड्नुपर्ने बाध्यता कसरी भयो ?
झापा अर्जुनधाराकी निलम दर्जीसँग २०६८ साल पुष ४ गते मेरो अन्तरजातीय विवाह भएको हो । त्यही समय देखि हामी समाजबाट बहिस्कृत भयौं र आजसम्म पनि घर फर्कन सकिरहेका छैनौं । अहिले आफ्नो परिवार र समाजसँग मात्र होइन, कानुन बनाएर लागू गर्न नसक्नेसँग पनि एक्लै लडिरहेका छु ।

० जातीय बिभेदको अन्त्य सम्भव छैन ?
नेपालमा विद्यमान जातिय विभेद पूर्ण रूपमा अन्त्य गर्न भने सकिदैन । किनकि यो देशमा केहि राजनीतिक दल र केहि जातिय संगठन नै जातिय विभेद अन्त्य गर्न चाहदैनन् ।

० तपाईले बनाउनु भएको चलचित्रले कस्तो सन्देश दिन खोजेको छ ?
चलचित्र ‘नदेखिएको जात’ जातिय बिभेदभित्रको प्रमेकथा हो । यो जातिय विभेद अन्त्य गर्नको लागि चाहिने सबै भन्दा ठुलो हतियार भनेकै प्रेम हो । हामीले यो जातिय विभेद अन्त्य गर्नको लागि पानी मात्र चलाउने होइन । दुई समुदायबीच बिबाहबारी पनि चलाउनु पर्छ भन्ने सन्देश दिन खोजेका छौं ।

० राज्यबाट के आशा गर्नुहुन्छ ?
समाजमा संकुुचित भावनाबाट ग्रसितहरूको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास फिल्म ‘नदेखिएको जात’बाट गरेका छौं भने राज्यले यो चलचित्र शहरदेखि ग्रामिण वस्तिहरू र देशैभरका बिद्यालयमा प्रदर्शन गर्न सहज वातावरण मिलाउन विशेष पहल गरिदियोस् भन्ने चाहन्छु ।