Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक ब्यापारको दुश्चक्रमा फसेको नेपाल – डा. केशव देवकोटा

नेपाल नराम्ररी राजनीतिक ब्यापारको दुश्चक्रमा फसेको देखिएको छ । हाल नेपालमा जो जसले आफूहरु राजनीति गरिरहेको भन्नेगरेका छन् यथार्थमा त्यो राजनीति नभएर राजनीतिका नाममा गरिएको कालो ब्यापारमात्र हो । राजनीतिका आफ्नै विश्वब्यापि मूल्य, मान्यता र आदर्श छन् । त्यसअनुसार नचलेपछि त्यो राजनीति नभएर गुण्डागर्दी, ब्यापार र डकैती जे पनि हुन सक्दोरहेछ भन्नेकुरा नेपालका समसामयिक घटनाक्रमहरुले पनि स्पष्टगरेका छन् । अन्यत्रको कुरा किन नेपालमा हाल सत्ताको छिनाझप्टी जसरी भैरहेको छ, त्यसले पनि राजनीतिका सबै मान्यता र पर्खालहरु नाघ्ने काम गरेको छ । बैशाख २७ गते प्रधानमन्त्रिको बिश्वासको मत लिने प्रयोजनका लागि बिशेष अधिवेशनको आयोजना हुँदैछ । गत केही हप्ता अघिसम्म पनि संसदको अधिवेशन जारी थियो ।

जुन अधिवेशनले काम नपाएर झण्डै ४० दिन त्यतिकै ब्यतित ग¥यो । अबको एक हप्तापछि नै फेरी बर्षे अधिवेशन शुरुहुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा प्रधानमन्त्रिका लागि बिश्वासको मत लिनकै लागि भनेर संसदको बिशेष अधिवेशननै आयोजना हुन्छभने योभन्दा ठूलो राजनीतिक पँहेली के हुनसक्छ ? २७ गतेको अधिबेशनमा प्रधानमन्त्रि केपी ओलीले बिश्वासको मत पाउनु हुन्छकि हुन्न त्यो अलग पक्ष रहेको छ । तर यस अवसरलाई प्रयोग गरेर को कस्ले कसरी आआफ्नो रोटी सेक्ने प्रयास गरिरहेका छन् त्यो चाहीं अत्यन्त रोचक पक्ष छ । प्रधानमन्त्रि ओली आफूलाई कम्युनिष्ट भन्नुहुन्छ । कम्युनिष्ट राजनीतिका पनि आफ्नै बिधि, पद्धति र मान्यताहरु रहेका छन् । राजनीति र संगठनगर्ने आफ्नै तौरतरिकाहरु छन् । जसको पालना गरेमात्र जो कोहीले कम्युनिष्ट राजनीति गरेको मान्न सकिन्छ । प्रम ओलीले प्रधानमन्त्रि भएयता गरेका गतिबिधिलाई मात्र आधार मन्ने हो भनेपनि के उहाँले गरेको राजनीति कम्युनिष्ट आदर्श र आचरणअनुसार छ त ? प्रश्न बढो गंभिर बनेको छ ।

उहाँले ०७४ को निर्वाचनमा कांग्रेससँग कार्यगत एकतामा रहेको माओवादी केन्द्रसँग रातारात चुनावी कार्यगत एकता गर्नुभयो । त्यसपछि घुम्दै फिर्दै ०७५ जेठ ३ गते पार्टीगत एकता पनि गर्नुभयो । जुन एकतामा सिद्धान्तको कुनै कुरै भएन । माओवादी केन्द्रले आफ्नो माओवादको सिद्धान्तनै छाडेर एमालेसँग पार्टी एकताको घोषणा गरेको थियो । त्यतिबेलै त्यो एमाले र माओवादी केन्द्रका केही नेताहरुको स्वार्थको एकता होभन्ने धेरैैलाई थाहा थियो । पार्टी एकतागर्दा उहाँहरुले ६०–४० का आधारमा गर्नुभयो । त्यो पार्टी एकतागर्ने शैलीनै गलत थियो । त्यसपछि उहाँहरुले सोही आधारमा पदहरुको भागबण्डागर्न थाल्नु भयो । यो झन महागल्ती थियो । पार्टीमा दुई अध्यक्षको ब्यवस्था गर्नु भयो, यो अर्को कहींपनि नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो थियो । त्यसपछि कम्युनिष्ट पार्टी नीतिप्रधान हुनुपर्नेमा नेता प्रधान बनाउँदै पार्टीका सबै निर्णय र गतिबिधिहरु अध्यक्षद्वयको सहमति अनुसार हुनेछन् भनेर बिधानमै उल्लेख गर्नुभयो । अध्यक्षद्वयमध्ये एकजना प्रधानमन्त्रि पनि भएको हुनाले उहाँले आफूलाई जेठो अध्यक्ष भन्न थाल्नुभयो । अर्का अध्यक्षले आफू पार्टीको अध्यक्षजस्तो गरिमामय पदमा रहँदारहँदै पार्टीको समिति बाहिर गएर केही नेताहरुलाई मिलाएर गुट बनाउन थाल्नुभयो ।

अध्यक्षद्वयमध्ये एकजनाले सरकारको निर्णय पार्टीमा लाद्ने प्रयास गर्नुभयोभने अर्का अध्यक्षले गुटको निर्णयलाई पार्टीको निर्णय बनाउन खोज्नुभयो । तत्कालीन सत्तारुढ नेकपाका अन्य नेता तथा कार्यकर्ताहरु साँढेको जुधाईमा बाच्छाको मिचाइमा परे । परिणामस्वरुप सर्बोच्च अदालतको फागुन २३ को फैसलालाई अपब्याख्यागर्दै एमाले र माओवादी केन्द्र दुबै नेकपाको साइनबोर्ड फालेर आआफ्नो पूर्ब पार्टीको बोर्ड लगाउन हतारिएको देखियो । सर्बोच्च अदालतले एमाले र माओवादी केन्द्र मिल्न नपाउने भनेकै थिएन । जसमा गलत ढंगले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) नाम स्वीकृत भएकाले त्यसलाई नयाँ प्रक्रियाबाट सच्याएर ल्याउनुमात्र भनिएको थियो । यसअघिनै नेकपाका अध्यक्षद्वय दुईतिर पिठ्यु फर्काएर हिंडेको धेरै भएको थियो । त्यसैले उहाँहरु फागुन २३ पछि आआफ्नै दिशामा हिंडेको हिंडेकै हुनुभयो । आआफ्नो बाटोमा हिंडेर पनि उहाँहरुले आआफ्नो पार्टी बनाउने होइन अरुको पार्टी तोडफोडगर्नेमा बढी समय र शक्ति खर्चगर्न थाल्नुभयो । एमालेका अध्यक्ष ओलीले नेकपाबाट अलग भएपछि आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई यथार्थता बताउँदै बिगतका तिता टर्रा कुराहरु सबै बिर्सेर एकजुट होऔं भन्नुपर्नेमा आफ्नो पार्टीका नेताहरुलाई धमाधम किनारा लगाउने प्रयास थाल्नु भयोभने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेबाट माधव नेपालहरु फुटेर नआएसम्म आफ्नो पार्टी संगठननै नगर्ने नीति लिनुभयो । उहाँ अद्यापि त्यसैमा रहनुभएको छ । त्यसैले उहाँको प्रयास आफ्नो पार्टीलाई चुस्त र दुरुस्त बनाउनेभन्दा पनि एमालेलाई कसरी फुटाउने भन्नेमै केन्द्रित रह्यो । त्यसैको परिणामस्वरुप माधव नेपाल र झलनाथहरुले पार्टीलाई बलियो बनाएकोभन्दै समानान्तर पार्टी संगठन बनाउने र आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रि ओलीलाई सडकबाटै पद मुक्त गर्नतिर लाग्नुभयो । त्यसैको परिणति उहाँहरु हाल सांसद पदबाट राजीनामा दिने मुढमा पुग्नुभएको छ ।

प्रम ओलीका लागि पनि टिपेर फ्याल्नुपर्नेहरुलाई हावाले उडाएर लाँदा राम्रै हुनेभएको छ । माधव नेपालहरु सांसद पदबाट राजीनामा गर्नुहुन्छ, ओलीले उहाँहरुलाई पार्टीबाट पनि हटाउनु हुन्छ । त्यसपछि माधव नेपाल र झलनाथहरुको बास धेरै त होइन केही समयका लागि माओवादी केन्द्रमा हुन्छ । सबैले जाने बुझेको कुरापनि त्यहीनै हो । यि सबै घटनाले एमाले र माओवादी केन्द्रका नेताहरुले कस्तो कम्युनिष्ट राजनीति गर्दारहेछन् भन्ने सबैलाई प्रष्ट हुनपुगेको छ । यस्तो अवस्थामा महाधिवेशनको संघारमा पुगेको नेपाली कांग्रेसमा खासगरी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रि बन्ने भूतसवार भएको छ । उहाँ संसदीय ब्यवस्थाका सबै मूल्य, मान्यता र आदर्शलाई कुल्चदै कसरी आफ्नो पार्टीको महाधिवेशन सारेर प्रधानमन्त्रि बन्ने भन्नेमै तल्लिन हुनुहुन्छ । प्रम ओलीको वरीपरी भन्केका झिंगाहरु अचेल देउवाको वरीपरी भन्किन थालेका छन् । कताबाट बढी झर्छ उहाँहरुको खोज त्यसैमा केन्द्रित छ । २७ गतेपछिको नेपालको राजनीतिक परिदृश्यको पाटो अर्कै छ । हालैका यी घटनाहरुले नेपालका कम्युनिष्टहरुको मात्र नभएर संसदवादीहरुको हबिगतलाई पनि स्पष्टगरेका छन् । केही कम्युनिष्टहरु राजनीतिक ब्यापार गर्दागर्दै संसदीय राजनीतिमा पुगेर खसीको टाउको देखाएर कुकुरको मासुको ब्यापार गर्दैथिए । अब त्यो संसदीय राजनीति पनि गुण्डागर्दीमा पुगेपछि त्यसको बिनाश निकट भएको छ । नेपालका राजनीतिको ब्यापारगर्नेहरु र यहाँको राजनीतिक ब्यापारकाबारेमा जान्ने यो अपूर्ब मौका हो । सबैले यो मौकाको फाइदा लिंदाहुन्छ ।