Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिसँगै समाजसेवा

काठमाडौं । देशभित्र बेरोजगारी समस्यालाई हल गर्नका लागि राज्यस्तरबाट भएका प्रयासहरु कम भइरहेको समयमा निजी संघसंस्था र सामाजिक संघसंस्थाहरुले क्रियाशीलता बढाउँदै लगेका छन् । कृषि पर्यटन तथा प्राविधिक तालिमको माध्यमबाट दक्ष जनशक्तिको उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित केयर वुमन नेपालले धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ८ मुगामा महिला सामुदायिक भवन, शान्ति पार्क तथा पर्यटन पूर्वाधार केन्द्रको स्थापनाका लागि भवन बनाउने कार्यलाई तिव्रता दिएको छ । उक्त संस्थाकी अध्यक्ष इन्दिरा थापाकाअनुसार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याइने दुई तले उक्त भवनका लागि संस्थालाई अनुदानबाट जग्गा प्राप्त भएको थियो भने पाख्रिबास नगरपालिकाकोसमेत आर्थिक सहयोग र विभिन्न सरकारी तथा निजी संघसंस्थाहरुको समेत आर्थिक सहयोग रहेको छ । उक्त भवन निर्माण भएपछि त्यस क्षेत्रका विपन्न महिलाहरुलाई स्वरोजगारमूलक तालिम दिने र युवा तथा इच्छुक नागरिकहरुलाई कृषिसम्बन्धी तालिम दिई स्थानीय स्तरमै उनीहरुलाई रोजगारीको प्रत्याभूत गराउने किसिमका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । परम्परागत ढंगबाट अघि बढेको कृषि क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै कृषकलाई निर्वाहमुखी नभई व्यवसायिक बनाउने लक्ष्य राखिएको छ । यस भवन सञ्चालनसँगै पाख्रिबास नगरपालिकाका नागरिकलाई लक्षित गरी बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी समेत संस्थाले गरेको छ । विपन्न तथा सुत्केरी महिलाहरुको जीवन रक्षाका लागि उक्त सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको अध्यक्ष थापाले बताइन् ।

२०५४ साल मंसिर ११ गते काठमाडौंमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको उक्त संस्थाले धनकुटालाई कार्यक्षेत्र बनाएको छ भने मोरङलाई समेत कार्यक्षेत्र बनाउँदै विभिन्न सामाजिक गतिविधि गर्ने लक्ष्य राखेको छ । विपन्न महिलाहरुलाई आयआर्जनमुखी कार्यक्रममा सहभागि गराउनेदेखि लिएर विपन्न महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी कार्यक्रमलाई समेत उक्त संस्थाले प्राथमिकता दिएपछि धनकुटामा यो संस्थाको लोकप्रियता बढ्दै गएको छ । हालसम्म ३५ सय विपन्न महिलाहरुलाई पाठेघरको निःशुल्क उपचार गरिसकेको उक्त संस्थाले नगरवासीहरुलाई खानेपानीको पाइप वितरणदेखि लिएर कोरोना कहरका कारण असंगठित मजदुर र विपन्न व्यक्तिहरुलाई राहत वितरण कार्यमा समेत संस्थाले आफ्नो भूमिका प्रभावकारी बनाउँदै लगेको छ । जनताका आवश्यकतालाई लक्षित गरी सोही किसिमका कार्ययोजना बनाउँदै कार्यान्वयन गर्दै लगेका कारण केयर वुमन नेपाल उक्त क्षेत्रमा विपन्न समुदाय र महिलाको लागि भरपर्दो सहारा बन्न सफल भएको त्यस क्षेत्रका नागरिकहरु बताउँछन् ।

जिपी कोइराला फाउन्डेसन प्रदेश नंं. १ को समेत संयोजक रहेकी थापाले उक्त संस्थामार्फत् पनि धनकुटा जिल्लालाई मात्र होइन सिंगो प्रदेशभित्र विभिन्न रचनात्मक गतिविधि सञ्चालनगर्दै आएकी छिन् । धनकुटा काँग्रेसकी नेतृ समेत रहेकी थापाले विगत लामो समयदेखि समाजसेवामा देखाएको लगावका कारण जिल्लावासीले केही मात्रामा भए पनि राहतको अनुभूति गर्न पाएका छन् । उनकै सक्रियतामा कोइरालाहरुको उद्गमस्थल कोइराला निवास बिराटनगरमा काँग्रेसका तत्कालिन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झनामा जिपी संग्रहालय फाउन्डेसनको तर्फबाट निर्माणाधिन रहेको छ । उनकै पहलमा तीन कोइरालाहरु डा. शशांक, डा. शेखर र सुजाता कोइरालालाई एउटै मञ्चमा ल्याइएको थियो । २०७५ मंसिरमा जिपी कोइराला फाउन्डेशनको बिराटनगरमा प्रादेशिक कार्यालय उद्घाटन गर्दा तीन कोइरालालाई एउटै मञ्चमा ल्याउने प्रादेशिक संयोजकको हैसियतले थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछिका तीनमा तीन कोइरालाहरु पार्टी र मुलुकको राजनीतिक सन्दर्भहरुमा पटक पटक एकै ठाउँमा जुट्ने र छलफलबाट अघि बढ्ने गर्दै आएका छन् । राजनीति र समाजसेवामा थापाले खेलेको भूमिकाकै कारणले गर्दा जिपी कोइराला फाउन्डेशनको प्रादेशिक संयोजक बन्न थापा सफल भएकी हुन् ।