Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राज्यले बालसाहित्यलाई प्रोत्साहित गर्नुपर्छ

सञ्चारकर्मलाई पनि केही समय अङ्गालकी सृजना राई पछिल्लो समय बालसाहित्य लेखनमा सकृय रुपले लागेकी छन् । उनको कथाकृति ‘साङ्केनको खुलदुली’लाई कोपिला कितावबाट प्रकाशित पुस्तक २०७९ सालको नेपाल बालसाहित्य समाजले सर्वाेत्कृष्ट कथा लेखन पुरस्कार घोषणा गरेको छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकले मात्रै सम्भव हुँदैन । बालबालिकाका लागि बालसाहित्य अनिवार्य हुँदै गएको छ । यस्तो स्थितिमा बालसाहित्य किन लेख्नुहुन्छ, बालसाहित्य कस्तो हुनुपर्छ, बालसाहित्यको अवस्था कस्तो छ भन्ने बिषयामा श्रष्टा सृजना राईसंग जिज्ञासा राख्ने जमर्को गरेका छौं । लघुकथा र फुटकर गीति लेखनमा समेत कलम चदाउदै आइरहेकी खोटाङ, दिप्लुङकी स्रष्टा सृर्जना राईसंग ताजाखबर साप्ताहिकको लागि गरिएको कुराकानीः

० हालै ‘साङ्केनको खुलदुली’बाट सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार पाउनु भएको छ कस्तो महशुस गरिरहनु भएको छ ?
मलाई सुरुमा विश्वास गर्न नै गाह्रो भयो । जब पुरा रुपमा बिश्वास भयो अत्यन्तै हर्सित भएँ । प्लस बाल साहित्यको लागि अझै केहि गर्नुपर्छ भन्ने यो समयले मलाई जिम्मेवारी पनि थपिदिएको महशुस भैरहेको छ ।

० कहिलेबाट लेखनमा लाग्नु भो ?
ठ्याक्कै यकिनकासाथ यहि समयबाट लेख्न थालेको हो भन्ने याद छैन । तर जे होस मैले सानो उमेरबाट नै लेख्नेगर्थें । तर कसैलाई देखाउन सक्दिनथिएँ । लेखेर कति च्यातेर फाल्ने गर्थें ।

० बालसाहित्यका पाठकले कस्ता रचना रुचाउछन् ?
बाल साहित्य विशेष गरेर बालबालिकाको लागि नै भनेर सिर्जना गरिने भएकोले यसका पाठकहरू पनि बालबालिका नै हुनेगर्छन् । यसमा पनि उमेर समुहलाई ध्यान दिएर बनाइने सिर्जना गरिन्छ । जस्तो आठ बर्ष मुनिका र आठ बर्ष माथिका उमेर समुहलाई छुट्याएर कृति तयार गरिने गरिन्छ । बाल साहित्यका पाठकहरू अत्यन्तै सरल भाषा आफुले बुझ्नेखालका सुन्दर र आकर्षक चित्रहरू भएको किताब पढ्न रुचाउने गछ्र्न जस्तो लाग्छ ।

० अहिलेका बालबालिकाले हात हातमा संसारभरका बिभिन्न मनोरञ्नात्मक खुराक ग्रहण गरिरहेका हुन्छन् के साहित्यिक पुस्तक पढ्छन् जस्तो लाग्छ ?
नढाँटि भन्नुपर्दा बालबालिकाको लागि अहिले किताब पढ्ने बानी गराउन निक्कै कठिन नै छ । यहाँले भनेजस्तो मोबाइलको माध्यमबाट उनिहरूले संसारभरका मनोरञ्जनात्मक खुराक पाइरहेका छन् । तर, ति सबकुराले उनिहरूको धेरै कुरामा नोक्सानी पनि पुराइरहेको छ । यसो भन्दैमा आजको जेनेरेसनका बालबालिकाहरूलाई अहिलेको टेक्नोलोजीहरूबाट टाढा राखेर पनि नहुने अबस्था छ । त्यहाँबाट उनिहरूले धेरै कुरा सिकिरहेका हुन्छ्न । त्यसैले पनि हाम्रा बालबालिकाहरूलाई समय तालिका बनाएर मोबाइलफोन, ल्यापटप लगायतका सामाग्री सहित किताब पनि पढ्ने समय तालिका बनाएर उनिहरूको आनिबानीहरू र रुचि अबलोकन गरि उनिहरूलाई रोचक लाग्नेखालका पुस्तकहरू दिने हो भने बिस्तार बिस्तार उनिहरू साहित्यिक किताबहरू पनि पढ्ने बानि हुँदै जान्छन् भन्ने कुरामा मलाई बिश्वास लाग्छ ।

० बालसाहित्य लेखन तथा प्रकाशनको अवस्था कमजोर छ भन्छन् नि ?
यो बिधा अरु बिधाको तुलानामा ओझेलमा छ जस्तो लाग्छ । बाल साहित्यकारहरू लामो समय देखि बाल साहित्यमा कलम चलाइरहे पनि उहाँहरूलाई मानिसले चिन्ने खालको वातावरण नभएको महशुस हुन्छ । वहाँहरूको कृतिहरूले समाचारहरूको प्रसस्त स्थान नपाउँदा प्रचार प्रसार र बिक्री वितरणमा पनि कमि आउने हुन जान्छ । प्रकाशित कृतिले भनेजस्तो सफलता नपाए पनि स्वभावैले यो बिधा भन्दा केहि कम्जोर अवश्य छ । तर बिस्तार यो बिधा पहिलेभन्दा सुदृढ बन्दै गइरहेको छ ।

० नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकतालाई कसरी ब्याख्या गर्नु हुन्छ ?
मैले अघि भनेकै कुरा दोहोराउँछु नेपाली बालसाहित्य ओझेलमा छ । यहाँ थुप्रै बाल साहित्यका कृतिहरू छन् । बाल साहित्यकारहरू हुनुहुन्छ तर ति कृतिहरू र कृतिकारहरूलाई चिन्ने मास सानो छ । जब मास सानो हुन्छ बजार साँगुरो हुन्छ नै । बजार साँगुरो भएपछि यो क्षेत्रमा आवद्धभएर बाँच्न सहज हुँदैन । ठ्याक्कै यहि छ नेपाली बाल साहित्यको वर्तमान अवस्था । नेपाली बाल साहित्यमा राज्यले आफ्नो तवरबाट थुप्रै गृहकार्य गर्न जरुरी छ । प्रकाशनगृहहरूले आफ्नै लगानीमा विभिन्न वर्कसपहरू गराएर बाल साहित्य र बाल साहित्यकारहरू जन्माइरहेका छन् । राज्यले यि कुराहरूमा ध्यान दिएर त्यस्ता खालका क्रियाकलापहरूमा बजेट छुट्याइ बालबालिकाहरूलाई पनि प्रोत्साहित हुनेखालका कार्यक्रमहरू देशका विभिन्न कुना कुना पुराउन आबश्यक छ जस्तो लाग्छ ।

० वास्तवमा बालबालिका वा प्राथमिक तहका उमेर समूहका लागि कस्तो खालको बिषयवस्तु छनौट हुनुपर्छ ?
उनिहरूको लागि बाल अधिकार, बालबालिकाको कर्तव्य, नैतिकता, शिक्षाको महत्त्व, मेलमिलाप, आपराधिक क्रियाकलापबाट बच्ने उपाय जस्ता बिषयहरू छनोट गरिनु आबश्यक छ ।

० बालबालिकालाई स्वस्थ मनोरञ्जन प्रदान गर्न, पढाइमा अभिरुचि जागृत गराउन राज्यबाट कुनै पहल भएजस्तो लाग्छ ?
पहिलेको तुलनामा त अहिले राज्यबाट बालबालिकाको स्वास्थ र मनोरञ्जनमा धेरै नै पहल भएको मान्न सकिन्छ । जस्तो बिद्यालयमा बाल बिकासको योजना ल्याउनु । खाजाको ब्यबस्था गर्नु । खेल सामग्री उपलब्ध गराउनु आदि यद्यपि कार्यन्वयनमा अझै सुधार हुन आबश्यक छ ।

० लोकजीवन देखि समयसापेक्ष विभिन्न विषयसम्बद्ध बालरचनाहरू प्रकाशित छन् तपाईलाई मन परेको बालकृतिहरू सम्झनु पर्दा ?
इमन्दारिताका साथ भन्नुपर्दा मैले त्यति धेरै बाल कृतिहरूको अध्यायन गरेको त छैन । मैले केहि पढेका कृतिहरूमा मलाई मनपर्ने कृतिहरू तोत्तो चान, झ्यालमा रमाउने केटी, का का कौवा, धमिरा खाजा, गजबकी गुथुली आदि हुन् ।

० गीति लेखनमा पनि कलम चलाउनु हुन्छ, बिधागत रुपमा के बिन्नता छ ?
गीत तपाईंलाई जस्तो परिस्थितिमा जुनसुकै विषय बस्तुमा पनि लेख्न मनलाग्दा, लेख्न सकिन्छ । जता जता बग्दा पनि बग्न पाइयो तर बाल साहित्य त्यस्तो हुँदैन । यहाँ सिमित क्राइटेरियामा बाँधिएर सरल र रोचक शब्दहरू छनोट गरेर लेख्नुपर्ने हुँदा मलाई चैँ बाल बिदा गीति बिधा भन्दा निकै कठिन बिधा लाग्यो ।

० बालसाहित्य देखनमा रुचि भएका नवागन्तुक श्रष्टाहरूलाई के सुझाव दिनुहुन्छ ?
म आफैँ नव आगन्तुक हुँ । मलाई लागे अनुसार हामीले यो क्षेत्रमा धेरै नै अध्ययन गर्न जरुरी छ । बालबालिकाको मनोबिज्ञान बुझ्न जरुरी छ । त्यसका लागि हामीले धेरै भन्दा धेरै बालबालिकाको संगत पनि गर्न जरुरी छ जस्तो लागेको छ ।