Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘रावायण’को धक्कापछि पलसँग डराउँदैछन् निर्माता

काठमाडौं । पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्सअफिसमा नराम्ररी पछारिएको छ। जुन असफलताले पलको करिअरमा पनि धक्का पुर्‍याएको छ। ‘रावायण’ प्रदर्शनअगावै निकै चर्चामा थियो। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल हिट कमब्याकको खोजीमा थिए। कतिपयले त यस फिल्मबाट पलका दिन सुरु भएको भन्न पनि भ्याएका थिए। तर, त्यसो हुन सकेन। व्यावसायिक र समीक्षात्मक हिसाबले फिल्म फ्लप हुँदा पललाई ठूलो झट्का लागेको छ। यस फिल्मपछि पलले सम्झौता गरिसकेका फिल्मबाट समेत हटाइएको छ। केही समयअघि पलसहित बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ घोषणा गरिएको थियो। तर, अब यस फिल्मबाट पललाई हटाएर सौगात मल्ललाई लिइएको छ। खासमा ‘रावायण’ नचल्नु नै पलको लागि सकसपूर्ण घटना बन्न पुगेको छ। फिल्मबाट हटाउनु मात्रै होइन, अहिले उनलाई लिएर फिल्म बनाउनसमेत मेकरहरू गाह्रो मानिरहेका छन्। पल शाहकै कारण ‘कल्ली’ मा केही कलाकारले काम गर्न नमानेको पाइएको छ। अरू मुख्य भूमिकाका लागि केही कलाकारलाई अफर गरिएको थियो। तर, पलको कारण उनीहरूले प्रस्ताव स्विकारेनन्। जसले गर्दा अन्ततः पललाई नै फिल्मबाट हटाइएको छ।
नाबालिग बलात्कारको अभियोगदेखि ‘रावायण’ को गेटअपको कारण पल यतिखेर सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। फिल्मको कथादेखि अभिनयको पनि आलोचना भइरहेको छ। यसैबीच, पलको लागि अर्को दुःखद खबर छ। पलको मुख्य भूमिका रहेको ‘मायावी’ कात्तिक १५ गतेबाट आउने पक्का भएको थियो। तर, पलको असफलतापछि निर्देशक दिवाकर भट्टराईले फिल्मको प्रदर्शन मिति सारेका छन्। विभिन्न कारण देखाए पनि भट्टराईले पलको माहोल राम्रो नहुँदा फिल्म सारेको देखिन्छ। अब ‘मायावी’ पुस २६ गते रिलिज हुनेछ। कुनै बेला पल सर्वाधिक व्यस्त कलाकारमा गनिन्थे। डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’ हिट भएपछि पल फिल्ममा चम्किएका थिए। साथै म्युजिक भिडिओमा उनको माग थियो। उनले खेलेका म्युजिक भिडिओसहित फिल्महरू पनि चलिरहेका थिए। तर, करिअरको पिक टाइममा पलले नाबालिग बलात्कारको मुद्दा खेपे। ‘म यस्तो गीत गाउँछु’ को रिलिजताका थुनामा गएका पल एक वर्षपछि सफाइ पाएर कारागारमुक्त त भए। तर, माहोल पहिलेजस्तो रहेन। त्यसपछि पलको समर्थक पंक्ति पातलिँदै गएको छ। उनीमाथि लागेको अभियोगकै कारण कतिपय दर्शकले उनको फिल्म नै बहिष्कार गर्नुपर्ने टिप्पणी समेत गरिरहेका छन्। केही नायिकाले उनीसँग स्क्रिन सेयर गर्न अप्ठेरो मानिरहेका छन्। यसकारण पनि पललाई आफ्नो अभिनय करिअरमा कम ब्याक हुन कठिन देखिएको छ। यसरी खेलेका फिल्म बक्सअफिसमा फ्लप हुनु, विवादले नछाड्नु, साइन गरेका फिल्मबाट पनि हटाउनुले पलको करिअरमा नराम्रो धक्का लागेको उनीसँग काम गरेका कलाकार तथा निर्देशकहरूको भनाइ छ।