Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिको आवहान पछि नेताहरुको दौडधुप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । काँग्रेस, माओवादी, जसपाको यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध एकजुट भएपनि महन्त ठाकुरका १५ भाईले निहुँ खोजिरहेका छन् । सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिको आह्वानपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउनेबारे छलफलमा जुटेका छन् ।

सरकार गठनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । देउवा र प्रचण्डबीच पौने घण्टा जति कुराकानी भएको जनाइएको छ । सभापति देउवाले तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाका नेताहरुको छलफल राखेका थिए । तर जसपा आन्तरिक रुपमा प्रष्ट नभएपछि देउवाले बैठक स्थगित गरेका छन् । तर, देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव टेलिफोन संवाद भने भइरहेको छ । जसपामा यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठनको पक्षमा छन् । तर महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीकै पक्षमा उभिएपछि जसपा प्रष्ट हुन सकेको छैन । जसपाको यो दुई धारबीच संवादको पहल भइरहेको स्रोतले जनाएको छ । जसपाको विवादका कारण संयुक्त बैठक स्थगित भएपछि सभापति देउवाले पदाधिकारी बैठक बूढानीलकण्ठमा बोलाएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको छ ।

अहिले स्थायी कमिटी सदस्यहरुबीच भर्चुअल संवाद भइरहेको एक नेताले बताएका छन् । यो समूहका २८ सांसद सोमबार ओलीलाई विश्वासको मत दिन संसद गएका थिएनन् । आगामी कदमबारे छलफल गर्न यो समूह आन्तरिक छलफलमा जुटेको छ । यति खेर माधव पक्ष भन्दा पनि जसपाको ठाकुर पक्ष निर्णायक बनेको अवस्था छ । प्रम ओलीले भारतीय शासकहरुको सहयोगमा ठाकुर र महत्तोलाई आफ्नो पक्षमा पारे भने अहिलेको चुइफुइ समाप्त हुन्छ ।