Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिमा कांग्रेसलाई सघाउन तयार प्रचण्ड

काठमाडौं । भावी राष्ट्रपतिका लागि नेताहरूबीच संवाद चलिरहे पनि नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई औपचारिक प्रस्ताव गरेको थिएन। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिमा सहयोगका लागि औपचारिक प्रस्ताव गर्न कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार साँझ पार्टीका पदाधिकारीसहित बालुवाटार पुगे। प्रधानमन्त्री प्रचण्डसँग भएको करिब दुई घण्टा लामो छलफलका क्रममा देउवासहित कांग्रेस नेताहरूले भावी राष्ट्रपतिमा सहयोग गर्न प्रस्ताव गरे।
राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्नु अघिल्लो दिन बालुवाटार पुगेका कांग्रेस नेताहरूले तत्कालीन पाँचदलीय गठबन्धन ब्युँत्याएर राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरे। राष्ट्रपतिमा सहयोग गर्ने कांग्रेस नेताहरूको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रचण्ड तयार भएका छन्। ‘प्रचण्ड सकारात्मक हुनुहुन्छ। राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने भन्नु भएको छ,’ ती नेताले भने। स्रोतका अनुसार प्रचण्डले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको सुनाएका थिए।
छलफलका क्रममा कांग्रेस नेताहरूले पनि विगतको गठबन्धन टुट्नुमा आफूहरूको कमजोरी भएको स्वीकार गर्दै अब बन्ने समझदारीमा तलमाथि नगर्ने प्रतिद्धता जनाएका छन्। ‘हामीबाट केही त्रुटि भएकाले गठबन्धन टुट्ने अवस्था सिर्जना भयो। अब बन्ने समझदारी कुनै हालतमा तलमाथि हुँदैन, अक्षरस पालना हुन्छ भनेका छौं,’ एक नेताले भने। भेटका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाल्नसक्ने सम्भावित कदमबारे पनि छलफल भएको थियो। माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने भएपछि एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्न सक्ने आशंका नेताहरूको छ। तर, प्रचण्डले भने माधव नेपाल स्वयं ओलीतिर जाने पक्षमा नरहेको सुनाएका थिए।
यद्यपि नेताहरू एकीकृत समाजवादीसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति निर्वाचनका सम्बन्धमा कांग्रेस, माओवादी र जसपाबीच तत्काल छलफल गर्ने तयारी भइरहेको बताइएको छ। राष्ट्रपतिका लागि एक भएर अघि बढ्नुपर्नेमा नेताहरू सहमत देखिएपछि पुरानो पाँचदलीय गठबन्धन ब्युँतिने सम्भावनालाई बढाइदिएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रले सोमबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। यो बैठकले गर्ने निर्णयपछि राजनीतिक कोर्स परिवर्तन हुनसक्ने अनुमान नेताहरूले गरेका छन्।
प्रचण्डले कांग्रेसलाई सहयोग गर्ने आश्वासन दिए पनि माओवादी बैठबाट आजै निर्णय हुनेमा शंका छ। किनभने एमालेसहितको गठबन्धन जोगाउनुपर्ने मत पनि माओवादीभित्र देखिन्छ। यद्यपि अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरूलाई वचन दिइसकेकाले ढिलो चाँडो त्यसअनुसार नै निर्णय हुने सम्भावना रहेको माओवादीका एक नेताले बताए।
राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्दा प्रधानमन्त्रीबारे कुनै समझदारी नभएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच यस विषयमा छलफल भएको बताइन्छ। सुरूका तीन वर्ष प्रचण्ड र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने प्रारम्भिक समझदारी जुटेको बताइएको छ। यद्यपि राष्ट्रपति आफूहरूले पाउँदा प्रचण्डलाई पूरा कार्यकालका लागि सरकारको नेतृत्व गर्न दिन पनि तयार रहेको कांग्रेस नेताहरूले बताउन थालेका छन्।