Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिमा माधवको सम्भावना कति ?

काठमाडौं। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै भावी राष्ट्रपतिका विषयमा चर्चा सुरु भएको छ। फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्र्ता गर्ने दिन हो, तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। पूर्व सहमति अनुसार राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय एमालेले गरिसकेको छ। तर, उम्मेदवार सार्वजनिक गरेको छैन। बरु अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेको चर्चाले राजनीति बजार चुलिएको छ। वर्तमान गठबन्धन कायम राख्न ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने संकेत प्रधानमन्त्री प्रचण्डले गरिसकेका छन्। यस्तो अवस्थामा माओवादीले त माधव नेपाललाई स्वीकार्छ नै, कांग्रेसलाईसमेत धर्मसंकेत पर्ने देखिएको छ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन घोषणा गर्ने बताइसकेका छन्। माओवादी केन्द्रले एमाले उम्मेदवारलाई राष्ट्रपति स्वीकार्न नसक्ने बताएपछि ओली दबावमा परेका छन् र उनी आफ्नै खेमाबाट राष्ट्रपति बनाउन चाहन्छन्। राष्ट्रपतिको उम्मेदवार चयन गर्ने जिम्मा पार्टीले अध्यक्ष ओलीलाई दिइसकेको छ। ‘अहिले हाम्रा अध्यक्ष मुखमा पानी हालेर बस्नु भएको छ,’ ओली निकट एक पदाधिकारीले डिसी नेपालसँग भने, ‘राष्ट्रपतिको उम्मेदवार को बनाउने भन्ने विषय उहाँबाहेक अहिले अरुलाई जानकारी छैन।’
एमालेभित्रैबाट राष्ट्रपति बन्ने अवस्था आए, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यको संभावना बलियो छ। ओलीले चाहेकै व्यक्ति राष्ट्रपति बन्न सक्ने अवस्था नदेखिएपछि ओलीले सर्वस्वीकार्य व्यक्तिको खोजी गरिरहेका छन्। एमालेले राष्ट्रपति नपाउने अवस्थामा माधव नेपालको नाम ओलीले अगाडि सार्ने नेताहरुले बताएका छन्। तर माधव नेपाल अहिलेको गठबन्धन भत्काउन सक्रिय भएको अवस्थामा उनलाई नै राष्ट्रपति बनाउने कुरा राजनीतिक र नैतिक रुपमा पनि उचित नभएको भन्दै एमालेभित्रकै एक खेमाले विरोध गर्न थालेको छ।
तर माधव नेपालको नाम लिँदा माओवादी र नेपाली कांग्रेसको पनि समर्थन प्राप्त हुने र त्यस्तो अवस्थमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने भन्दै ओलीले माधव नेपालको नाम अगाडि बढाउने संभावना रहेको ओली निकट स्रोतले जनायो।संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा माओवादीले जसलाई समर्थन गर्यो उसैको उम्मेदवार राष्ट्रपति बन्ने अवस्था छ। माओवादीभित्र एमालेलाई राष्ट्रपति दिन नहुने मत बलियो छ भने भूराजीतिक अवस्था पनि एमालेको पक्षमा देखिएको छैन।
त्यसैले माओवादीले पनि स्वीकार गर्न सक्ने र गठबन्धन पनि कायम रहने गरी ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अगाडि सार्ने संभावना रहेको बताइएको छ।