Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिमा रामचन्द्र पक्का

काठमाडौं । मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्षको हैसियतमा पुग्यो। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिले प्रधानमन्त्री को लिने विषयमा कुरा नमिल्दा पाँचदलीय गठबन्धन भत्कियो। र, कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो। तर, नयाँ समीकरण बनेको दुई महिना नबित्दै राजनीति ‘कोर्स’ फेरिएको छ। पुस १० गते बालकोट बैठकबाट बनेको समीकरणलाई राष्ट्रपति निर्वाचनले भत्काइदिएको छ। नयाँ समीकरण बनेको छ, कांग्रेस, माओवादीसहित आठ दलको। नयाँ समीकरण बनेसँगै कांग्रेस राष्ट्रपतिमा एक हिसाबले ‘राजनीतिक छलाङ’ मारेको छ। राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएका छन्।
शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव गरे। राष्ट्रपति आपूmले पाउनुपर्ने दाबी गरिरहेको कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको त्यो प्रस्तावले झनै सहज बनाइदियो। राष्ट्रपतिमा दाबी गर्दै आएको नेकपा ९एकीकृत समाजवादी० का साथै जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले प्रचण्डको प्रस्तावलाई समर्थन गरे। बैठकमा सहभागी कांग्रेसका महामन्त्री गगन थापा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्ड आफैंले प्रस्ताव गरेको बताए।
‘कांग्रेसबाट साझा उम्मेदवार बनाउन प्रधानमन्त्रीज्यूको प्रमुख भूमिका रह्यो, हामी उहाँलाई धन्यवाद दिएका छौं,’ थापाले आयोमेलसँग भने,‘प्रधानमन्त्रीको प्रस्तावलाई सातै दलका नेताहरूले समर्थन गर्नुभएको छ।’ राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले शनिबार बिहान साढे ८ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
यो बैठकबाट कांग्रेसले भावी राष्ट्रपतिका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेछ। राष्ट्रपतिका लागि कांग्रेसबाट नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ। पौडेल र सिटौला दुवैले राष्ट्रपतिका लागि दाबी गरेका छन्। कार्यसम्पादन समितिको बैठकबाट पौडेल र सिटौलाध्ये एक उम्मेदवार हुने सम्भावना छ।
कांग्रेसका शीर्ष नेताहरूका अनुसार राष्ट्रपतिका लागि पौडेलको नाम करिब करिब टुंगो लागि सकेको छ। ‘औपचारिक रूपमा उम्मेदवारको टुंगो कार्यसम्पादन समितिले लगाउने हो, अहिलेसम्मको स्थितिलाई हेर्दा राष्ट्रपतिका लागि उहाँ नै ९पौडेल० उम्मेदवार हुने लगभग निश्चित छ,’ कांग्रेसका एक नेताले भने। राष्ट्रपतिका लागि आकांक्षा व्यक्त गरेको पौडेलले नयाँ गठबन्धन बन्नु अघिदेखि आफ्ना लागि लबिङ गर्दै आइरहेका छन्।
राष्ट्रपतिमा आफूलाई समर्थन गर्न उनले प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरेका छन्।यद्यपि नेता सिटौला पनि आफ्नो नाममा सहमति जुटाउने प्रयासस्वरूप लबिङलाई निरन्तरता दिइरहेका छन्। तर, सभापति देउवासहितका संस्थापन पक्ष र कतिपय इतर पक्षका नेताहरू पनि पौडेलको पक्षमा रहेको बताइएको छ।
संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि सभापति देउवा दबाबमा छन्। १४ औं महाधिवेशनमा तटस्थ बसेर देउवालाई मौन सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए।

माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपति चुनावमा कांग्रेसका जित लगभग पक्का छ। संघीय र प्रदेससभा सदस्यको मतदानबाट राष्ट्रपति हुन कुल मतभारको ५० प्रतिशत बढी ल्याउनुपर्ने हुन्छ। संघीय संसदका ३३४ र प्रदेससभाका ५५० गरी कुल ५२ हजार ६२८ मत भार छ। राष्ट्रपतिमा निर्वाचित हुने २६ हजार ३१५ मतभार पु¥याउनुपर्ने हुन्छ। कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग २ हजार ५७४, जसपासँग २ हजार १४५ मतभार छ। त्यस्तै जनमत पार्टीको १ हजार २४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५ र राष्ट्रिय जनमोर्चाको १५८ मतभार छ। कांग्रेस र माओवादीसहित आठ दलको समर्थन पाउने भएपछि २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजाप्रति कांग्रेस ढुक्क छ। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ।