Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभा अध्यक्षको रस्साकस्सीले गल्दैछ काँग्रेस

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको रस्साकस्सीले प्रमुख सत्ताघटक दल नेपाली काँग्रेस गल्दै गएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्त्रीको टिम फेरबदल र राष्ट्रिय सभा अध्यक्षका विषयमा समझदारी नजिक पुगेका छन्। बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पठाएको उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टिमबीच भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी जुटेको हो। फागुन २१ गतेभित्र सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने समझदारी जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयका सदस्यहरूले जनाएका छन्। त्यसअनुसार प्रधानमन्त्रीले बुधबार नै कांग्रेस लगायतका दलहरूसँग एक साताभित्र नाम मागेका छन्। प्रधानमन्त्रीको तयारी मन्त्री परिषदको टिम नै परिवर्तन गर्ने छ। टिम परिवर्तन गर्दा अर्थ माओवादी र गृह कांग्रेसले लिने गरि साटफेर गर्ने तयारी छ। २१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यतालिका छ। परिस्थिति नबदलिए प्रधानमन्त्री प्रचण्डले २१ गते संसदमा सम्बोधन गर्नुअगावै मन्त्री बदलिने चर्चा छ । कांग्रेसले वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनपछि मात्रै अर्थमन्त्रीसहित टिम परिवर्तन गर्न प्रस्ताव राखेपनि प्रधानमन्त्री अझै दुई महिना पर्खिन तयार भएनन्। समझदारी अनुसार कांग्रेस–माओवादीले केही मन्त्रालय समेत साटफेर गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका नेताबीच पछिल्ला दिन बाक्लो संवाद समेत भइरहेकाले काँग्रेस एकाएक प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा सहमत भएको हो । माओवादी केन्द्रको बुधबार बिहान सकिएको स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय नै गर्नुको पछाडिको कारण त्यही हो। माओवादीले विपक्षी दलसँग सहकार्य गर्न सक्ने देखिएपछि झस्केको कांग्रेसले राष्ट्रिय सभामा अध्यक्षको दाबी छाड्ने संकेत पनि गरेको छ।