Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय टोलीको क्याम्प छाडेपछि रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

काठमाडौं  । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेको घटनामा पोर्चुगल फुटबल महासंघ (एफपीएफ) ले ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ। महासंघको अनुशासन समितिले सोमबार उक्त निर्णय गरेको हो।

४१ वर्षीय रोनाल्डोले गत सेप्टेम्बर ३० मा डेनमार्कको कोपेनहेगनमा रहेको पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। नर्वेविरुद्धको खेलमा मैदान प्रवेशको अवसर नपाएपछि र डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती ११ मा नपर्ने थाहा पाएपछि उनी असन्तुष्ट बनेका थिए।

रोनाल्डोले प्रशिक्षक जर्ज जेससले खेल्ने अवसरबारे आफूलाई गरेका प्रतिबद्धता दुईपटक तोडेको आरोप लगाएका थिए। उनले प्रशिक्षकप्रतिको विश्वास गुमेको भन्दै टोली छाड्ने निर्णय गरेका थिए। तर, प्रशिक्षक जेससले भने रोनाल्डोसँग खेलाउने विषयमा कुनै सम्झौता नभएको बताएका छन्।

सजायको अवधि लगभग पूरा

महासंघका अनुसार रोनाल्डोमाथिको निलम्बन डेनमार्कविरुद्धको खेलको दिन अर्थात् अक्टोबर १ देखि लागू हुने गरी गणना गरिएको छ। त्यसअनुसार उनले ३० दिनमध्ये १९ दिनको निलम्बन अवधि पूरा गरिसकेका छन्। बाँकी अवधि पनि अक्टोबरको अन्त्यसम्म सकिने भएकाले नोभेम्बरमा हुने पोर्चुगलका खेलमा उनी उपलब्ध हुन सक्नेछन्।

पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगअन्तर्गत डेनमार्कसँग खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्ससँग प्रतिस्पर्धा गर्नेछ।

अनुशासन समितिले सजाय निर्धारण गर्दा रोनाल्डोले आफ्नो वक्तव्यमा व्यक्त गरेको पश्चात्ताप, फुटबलमा पुर्‍याएको योगदान तथा खेल जीवनमा प्राप्त उपलब्धिलाई ध्यानमा राखेको जनाएको छ।

रोनाल्डोले अक्टोबर ६ मा सार्वजनिक गरेको वक्तव्यमा आफ्नो गल्तीको जिम्मेवारी लिँदै टोलीका साथी र समर्थकसँग माफी मागेका थिए। उनले आफूले सजाय पाउनुपर्ने पनि स्वीकार गरेका थिए।

राष्ट्रिय टोलीमा फर्किने बाटो खुला

पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले पोर्चुगिज सञ्चारमाध्यम ‘रेकर्ड’सँग कुरा गर्दै विवाद समाधान भएपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने बलियो चाहना रहेको बताएका छन्। प्रशिक्षक जेससले पनि रोनाल्डोका लागि राष्ट्रिय टोलीमा फर्किने ढोका बन्द नभएको संकेत गरेका छन्।

पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट २३४ खेलमा १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा खेल संख्या र गोल दुवैमा उनको कीर्तिमान छ। उनको योगदानमा पोर्चुगलले सन् २०१६ को युरोकप र दुई पटक नेसन्स लिगको उपाधि जितेको छ।

रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरबको क्लब अल नासरमा आबद्ध भएका थिए। त्यसबेला उनको वार्षिक पारिश्रमिक १७ करोड ७० लाख पाउन्ड रहेको बताइएको थियो। उनले गत वर्ष क्लबसँग सम्झौता नवीकरण गरेका थिए।