Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय सभाको अध्यक्षमा सिटौलालाई केले छेक्यो ?

काठमाडौं । सत्ता गठबन्धनको सहमतिमै काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा पुर्याइएको हो । तर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि घटनाक्रम भिन्न ढङ्गले अगाडि बढेको बताएका छन् । चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हार र कांग्रेस महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बताएका हुन् । सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृुष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहीँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो, उनले भने । पार्टी स्थायी कमिटीको बैठकमा अत्याधिक सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न हुँदैन भन्ने सुझाव राखेको उनले बताए । तर, औपचारिक रुपमा लिखित निर्णय भने नभएको उनले बताए ।