Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९ औं महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको ९ सदस्यीय टोली स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ । असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९ औं महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी छन् । त्यसैगरी संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि प्रतिनिधिमण्डलमा छन् । आईपीयूको महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ’शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा सम्बोधन गर्ने कार्यसूची छ । प्रतिनिधि सभा सदस्यद्वय सुनिता बराल र निशा डाँगीले ’फोरम अफ योङ पार्लियामेन्टेरियन’ र ‘फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागिता जनाउने छन् । अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किने छ ।