Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको नेतृत्वमा जेनजीकाे सहभागिता खाेजियाे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण प्रभावित बनेको छ। उद्घाटन सत्रपछि सोमबारदेखि सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमै सञ्चालन हुन नसकेपछि महाधिवेशन एक दिन लम्बिएको हो।

बिहानैदेखि बन्दसत्रको प्रतीक्षामा रहेका प्रतिनिधिहरू दिनभर चितवन प्रदर्शनी केन्द्रमा बसे पनि कार्यक्रम सुरु हुन सकेन। साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले प्रतिनिधिको रुजु तथा परिचयपत्र छपाइमा समस्या देखिएकाले बन्दसत्र स्थगित गर्नुपरेको बताए। उनका अनुसार अब बन्दसत्र मंगलबार दिउँसो १२ बजापछि सुरु हुनेछ।

महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूले थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। पार्टीले खानाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन प्रतिनिधिहरू स्वयंले गर्नुपर्ने भएकाले केही प्रतिनिधिहरू असन्तुष्ट देखिएका छन्।

यसबीच महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रियामा जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न दबाब बढेको छ। पार्टीभित्रका युवा प्रतिनिधिहरूले सभापतिले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यमध्ये उल्लेख्य संख्यामा जेनजी पुस्तालाई समेट्न माग गरेका छन्।

रास्वपाकी नेतृ विनिता कठायतले महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा सक्रिय युवा पुस्तालाई नयाँ कार्यसमितिमा अवसर दिनुपर्ने बताइन्। मधेस प्रदेशका प्रतिनिधि मुकेशकुमार गुप्ताले पनि पार्टी निर्माणमा युवाको महत्वपूर्ण योगदान रहेकाले नेतृत्व तहमा उनीहरूको सहभागिता सुनिश्चित हुनुपर्ने धारणा राखे।

यद्यपि सांसद आशिष गजुरेलले युवाहरूले अवसर माग्नेभन्दा प्रतिस्पर्धामार्फत आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने बताए। सहमहामन्त्री विपिन आचार्यले भने केन्द्रीय सदस्य मनोनयनको अधिकार सभापतिमा रहेको स्पष्ट पार्दै निर्वाचित केन्द्रीय समितिपछि मात्र मनोनयन प्रक्रिया अघि बढ्ने जानकारी दिए।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा व्यवस्थापन र नेतृत्व चयन प्रक्रियालाई लिएर बहस तीव्र बन्दै गएको छ।


सम्बन्धित समाचार

खगेन्द्र सुनारको छुद्र टिप्पणी

२०८३ असार ९

ताजा नेपाल

जनताको सरोकारमा छैन चासो

२०८३ असार ९

ताजा नेपाल