Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको पदाधिकारीमा रवि पक्षको वर्चस्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा सभापति रवि लामिछाने पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह निकट मानिएका असिम शाहबाहेक सबै पदाधिकारीमा लामिछाने पक्षकै नेताहरू निर्वाचित भएका हुन्।

रास्वपा विधानअनुसार दुई उपसभापति, एक महामन्त्री तथा दुई सहमहामन्त्री (एक महिला र एक खुला) पदका लागि निर्वाचन भएको थियो। यसअघि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिएको हो।

खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। उनी सभापति लामिछाने निकट मानिन्छन्। महिलातर्फ उपसभापतिमा सोविता गौतम विजयी भएकी छन्। उनले डा. तोषिमा कार्कीलाई पराजित गरेकी हुन्।

महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। रास्वपाका संस्थापक सदस्यसमेत रहेका आचार्य लामो समयदेखि सभापति लामिछानेका निकट सहयोगी मानिन्छन्। महामन्त्री पदका लागि मनीष झा, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए।

सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। ढकाल लामिछाने पक्षका हुन् भने असिम शाह बालेन शाह निकट मानिन्छन्। शाह हाल बालेन शाहका राजनीतिक सल्लाहकारसमेत हुन्। यही पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले पनि उम्मेदवारी दिएका थिए।

महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित निर्वाचित भएकी छन्। उनले रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीलाई पछि पार्दै विजय हासिल गरेकी हुन्।

पदाधिकारी चयनअघि सभापति रवि लामिछानेले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका थिए। तर सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो। निर्वाचन परिणामले पार्टी नेतृत्वमा लामिछाने पक्षको स्पष्ट वर्चस्व कायम रहेको देखाएको छ भने असिम शाहको जितलाई बालेन पक्षको एकमात्र उल्लेखनीय सफलता मानिएको छ।