Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण प्रतिनिधिसभाको बैठक दोस्रोपटक स्थगित गरिएको हो।

दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक अब शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा पाँचवटा महत्त्वपूर्ण विधेयक तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्रम थियो।

त्यसैगरी, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित उक्त विधेयक सदनमा पेस गर्ने तयारी गरिएको थियो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने कार्यसूची तय गरिएको थियो।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको थियो।

यसका साथै आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची पनि आजकै बैठकमा समावेश गरिएको थियो।