Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपामा पदाधिकारी चयनको दौड तीव्र, मुख्य प्रतिस्पर्धा रवि समूहभित्रै

भरतपुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पदाधिकारी चयनको प्रक्रिया तीव्र बनेसँगै मुख्य प्रतिस्पर्धा सभापति रवि लामिछाने निकट नेताहरूबीच हुने देखिएको छ। प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह समूह र अन्य दलबाट समाहित नेताहरूलाई भने मनोनयनमार्फत पदाधिकारीमा समेट्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

महाधिवेशनबाट पारित संशोधित विधानअनुसार रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्‍याएको छ। तीमध्ये ११ जना पदाधिकारी सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेता पद बालेन्द्र शाहका लागि सुरक्षित राखिएको छ। यस पदमा निर्वाचन नहुने भएकाले शाहलाई केन्द्रीय सदस्यमा समेत प्रतिस्पर्धा गर्नुपर्ने छैन।

पार्टी स्रोतका अनुसार बालेन समूह, विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी तथा अन्य समूहबाट आएका नेताहरूलाई मनोनयनमार्फत पदाधिकारीमा समेट्नेबारे छलफल भइरहेको छ।

तीन सदस्यीय उपसभापति पदमध्ये दुई जना खुला प्रतिस्पर्धाबाट र एक जना मनोनयनमार्फत चयन हुनेछन्। खुलातर्फ वर्तमान उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गराउने प्रयास भइरहेको स्रोतले जनाएको छ।

महिला उपसभापति पदमा भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोबिता गौतम र पार्टी कोषाध्यक्ष लीमा अधिकारीबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। इन्दिरा राना मगर र समीक्षा बाँस्कोटाले पनि उक्त पदमा आकांक्षा देखाएका छन्।

महामन्त्री पदमा भने सबैभन्दा कडा प्रतिस्पर्धा हुने देखिएको छ। विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना निर्वाचनबाट र अर्को एक जना मनोनयनमार्फत चयन हुनेछन्। मनोनयनबाट बालेन समूहका भूपदेव शाहलाई निरन्तरता दिने तयारी रहेको बताइएको छ।

निर्वाचनबाट चयन हुने महामन्त्री पदका लागि मनीष झा, शिशिर खनाल, कबिन्द्र बुर्लाकोटी र विपिन आचार्यबीच प्रतिस्पर्धा हुने सम्भावना छ। उनीहरू सबै सभापति लामिछाने निकट मानिन्छन्।

सहमहामन्त्री पदमा पाँच जना रहने व्यवस्था छ, जसमध्ये तीन जना निर्वाचनबाट र दुई जना मनोनयनमार्फत चयन गरिनेछ। बालेन समूहबाट असीम शाह तथा विवेकशील साझा समूहबाट रञ्जु दर्शना मनोनयनमा पर्न सक्ने चर्चा छ। खुलातर्फ हरि ढकाल, यज्ञमणि न्यौपाने, रमेश प्रसाईं र जगदीश खरेललगायतले दाबी प्रस्तुत गरेका छन्।

यस्तै, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, प्रवक्ता र सह–प्रवक्ता पदमा सभापतिले मनोनयन गर्ने व्यवस्था छ। यी पदहरूमा विभिन्न समूहबाट पार्टीमा समाहित भएका नेताहरूलाई समेट्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली टुंगो लगाउन ढिलाइ भएपछि बन्दसत्र र निर्वाचन प्रक्रिया एक दिन पछाडि सरेको थियो। संशोधित कार्यतालिकाअनुसार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने बुधबार बिहानदेखि पहिलो चरणको मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

सभापति लामिछानेले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउँदै सहमति जुट्न नसके स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिने बताएका छन्।


सम्बन्धित समाचार