Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले खोल्दैछ भ्रातृ संगठन

काठमाडौं । जान्नेलाई छान्ने अभियानबाट जनतामाझ लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलभन्दा आफूलाई भिन्न देखाउन भ्रातृ संगठन र कार्यकर्ता नराख्ने नीति लिएको थियो। तामझामले पार्टी घोषणा गरेको रास्वपाले यही कारण चर्चा बटुल्यो। रास्वपाको वेबसाइटमा राखेको ‘अन्य पार्टीभन्दा फरक’ शीर्षकको दोस्रो नम्बर बुँदामा लेखिएको छ– राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि किसिमको भ्रातृ संगठन हुँदैन। घरैपिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरी राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउनु हाम्रो मुख्य उद्देश्य हो। युवा, महिला, किसान, मजदुर, पेसागत नेपाली, व्यवसायी, आदिवासी, मधेसी, दलित, जनजाति, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम, अपांगता भएका व्यक्तिहरूलगायत सबैका आवश्यकता र मागलाई पार्टीका मूल संरचनाबाटै उठाइने छ। यसैगरी रास्वपाले कार्यकर्तारहित पार्टी बनाउने संकल्प गरेको थियो। सामाजिक सञ्जाल र चर्चित नेताबाट पार्टी चलाउन सकिन्छ भन्ने आत्मविश्वासमा रहेका रास्वापका नेताहरू तीन वर्ष नपुग्दै भ्रातृ संगठन बनाउनुपर्ने निष्कर्षमा पुगेका छन्। पार्टीले स्थापनाको यो अवधिमा व्यहोरेको आरोह–अवरोहदेखि नेपालको राजनीतिक प्रणालीका कारण यसअघि अवलम्बन गरेको नीति परिमार्जन गर्न छलफल अघि बढेको नेताहरूको भनाइ छ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार भ्रातृ संगठन चाहिने निष्कर्षमा पार्टी पुगेको छ। यद्यपि, निर्णय भइसकेको छैन। रास्वपाले ६८ भन्दा बढी जिल्ला समिति बनाइसकेको छ। तर, संगठन नभई पार्टी चलायमान र सशक्त बनाउन नसकिनेमा पार्टी भरखरै पुगेको छ। उनीहरूको विश्लेषण अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत पुराना दलले संगठनकै बलमा पार्टीलाई गतिशील बनाएका हुन्।