Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । आइतबार ढिलो गरी गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफै उपस्थित हुने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोग पत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ । प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो । यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो । जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीवी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिए । सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । यो नयाँ मुद्दा हो । सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो । लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो । थप अभियोगको फाइल बिहीबारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पूरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो । यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै मुद्दा दर्ता गरेको थिएन । प्रहरी अनुसन्धानका अनुसार सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरीका आधारमा अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको यो अनुसन्धानमा देखाइएको छ । आइतबार मुद्दा दर्ता भएकाले लामिछाने सोमबार अदालतमा उपस्थित हुने तयारीमा रहेको रास्वपाले जनाए पनि सोमबार भने आइतबार ढिला मात्रै मुद्दा भएकाले सोमबार आउन सम्भव नभएको लामिछानेको सचिवालयमा रहेका अविनाश आचार्यले जनाए ।
२०८१ चैत्र २९
ताजा नेपाल
२०८१ चैत्र २९
ताजा नेपाल
२०८१ चैत्र २९
ताजा नेपाल