Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसी सेनामा ६१ जनाको ज्यान गयो, १७० सय फिर्ता

एजेन्सी । रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्। दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत सफलता प्राप्त नगरेका बेला नेपालले भने फिर्ता हुन इच्छुक सबैजसो नागरिकहरूलाई फिर्ता ल्याउने सफलता प्राप्त गरेको हो। यससँगै दुखद खबर पनि छ। त्यो हो– रुसी सेनाको तर्फबाट युद्धमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्ने देखिएको छ। हाल चलिरहेको छानबिनबाट पुष्टि भए युद्धमा मारिने नेपालीहरूको संख्या ३ दर्जनबाट बढेर पाँच दर्जन नाघ्न सक्छ। रुस–युद्ध युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ। तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२ नेपालीको डीएनए परीक्षण भइरहेको जानकारी गराएको छ। डीएनए परीक्षणबाट पुष्टि भएपछि रुसले यससम्बन्धी जानकारी नेपाली पक्षलाई दिने गर्छ। त्यसपछि उनीहरूको मृत्यु भइसकेको आधिकारिक जानकारी सार्वजनिक गरिन्छ। आधिकारिक जानकारीका साथ रुसी पक्षले मृतकहरूको क्षतिपूर्ति लगायतको प्रक्रिया सुरु गर्छ। अहिले डीएनए परीक्षण हुँदै गरेका सैनिकहरू सबै नेपाली रहेको पुष्टि भए रुस–युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ६१ पुग्नेछ। मृत्युको आधिकारिक पुष्टि भएका ३९ नेपालीबाहेक ६ जना नेपालीहरू युक्रेनको कब्जामा छन्।

१७० जना नेपाल फिर्ता
नेपालका अलावा भारत र श्रीलंका लगायतका दक्षिण एसियाली मुलुकहरूबाट पनि रुसी सेनामा युवाहरू भर्ती भएका छन्। तर, आफ्ना नागरिक फिर्ता ल्याउने सम्बन्धमा भारत र श्रीलंकाको तुलनामा नेपालले अधिक सफलता प्राप्त गरेको छ। हालसम्म १ सय ७० जना नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भइसकेका छन् र केही नेपालीहरू फिर्ता हुने प्रक्रियामा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यो संख्या मस्कोस्थित नेपाली राजदूतावासबाट आवश्यक कागजात बनाएर फिर्ता हुनेहरूको आधिकारिक तथ्यांक हो।
युक्रेनसँगको युद्ध लम्बिने देखिएपछि रुसले विदेशी नागरिकहरूलाई सेनामा भर्ती लिने नीति अख्तियार गरेको थियो। यसका लागि एक वर्ष रुसी सेनामा बिताएपछि सम्बन्धित व्यक्ति र उसका परिवारलाई रुसी नागरिकता लगायतका सुविधा दिने घोषणा समेत उसले गर्‍यो। यस्तो घोषणापछि केही नेपालीहरूले रुसी नागरिकता लिएका छन्। नागरिकता नै लिएका कारण उनीहरूलाई रुसी सेनाबाट फिर्ता गर्न असम्भव रहेको अधिकारीहरूको भनाइ छ। रुसी सेनामा भर्ती भएको जानकारी प्राप्त हुनासाथ नेपाल सरकार र मस्कोेस्थित नेपाली राजदूतावासले पहल सुरु गरेकाले आफ्ना अधिकांश नागरिक फिर्ता गर्न नेपाल सफल भएको ती अधिकारीले बताए। तर, पहल ढिलो गरी सुरु गरेकाले दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले भने नेपालको जस्तो सफलता प्राप्त गर्न सकेका छैनन्।

अन्तिम समूह फर्कने तयारीमा
युद्धमा अमेरिका लगायतका पश्चिमी राष्ट्रहरूले युक्रेनलाई सहयोग गर्न थालेपछि युद्ध लम्बिने विश्लेषणसँगै रुसले विदेशीहरूलाई आफ्नो सेनामा भर्ती गर्न थालेको थियो। यसैक्रममा सन् २०२३ को मे–जुनदेखि नेपालीहरू पनि रुसी सेनामा भर्ती हुन थाले। सुरुवातमा रुसी सेनामा भर्ती हुनेहरूमा अध्ययनका लागि रुस पुगेका नेपाली विद्यार्थीहरू थिए। पछि आकर्षक तलब र सुरक्षित जागिरको लोभ देखाएर मानव तस्करहरूले नै नेपालीहरूलाई रुसी सेनामा भर्ती गराउन रुस लैजान थाले। विदेशी नागरिकहरूलाई रुसी सेनाले सुरुमा एक वर्षको ‘कन्ट्रयाक्ट’ गरेर भर्ती गर्ने गरेका थियो। नेपालको आग्रह र पहलपछि भर्ती रोक्ने र उनीहरूलाई फिर्ता पठाउने रुस राजी भयो। यसमध्ये गत वर्ष (२०२३) को जुलाई–अगस्टसम्म भर्ती भएका अधिकांश नेपाली स्वदेश फर्किसकेका छन्। रुसी सेना छाडे पनि जो नेपाल फर्केका छैनन्, उनीहरू जर्मनी, पोर्चुगल लगायत तेस्रो मुलुक पुगेका छन्। स्रोतका भनाइमा रुसी नागरिकता नलिएका र फर्कन चाहने सबैजसो नेपालीहरू अक्टोबर–नोभेम्बरसम्म नेपाल फर्किसकेका हुनेछन्।


सम्बन्धित समाचार

बिदा भए गभर्नर अधिकारी

२०८१ चैत्र २३

ताजा नेपाल

रवि लामिछानेलाई रुपन्देही लगियो

२०८१ चैत्र २३

ताजा नेपाल