Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेशमको कुरा उठ्दा थारु आन्दोलन ओझेलमा

कैलाली । सत्ताको निम्ति मधेसका एजेण्डाहरुलाई स्वार्थका भर्याङ्ग बनाएका शक्तिहरु यतिखेर कैलाली काण्डका आरोपी रेशम चौधरीलाई हतियार बनाउदै छन् । गृहमन्त्री पदमा रहेर राजनीतिक रुपमा सबै जनतासँग सम्मान हुनु पर्ने मन्त्री नै अदालतले कानूनी रुपमा दोषी करार गरेको व्यक्तिको आरोप कमजोर बनाउन सडकमा पुगेको देखिएको छ । छिमेकी देशसँग सम्बन्ध राखेर मधेसमा काग्रेस, कम्युनिष्ट जस्ता शक्त्तिलाई कमजोर बनाउन स्थापना भएका दलहरु नै चौधरीको नाँउमा स्वार्थको लडाँइ गर्न व्यस्थ छन् । ओली सरकारको पक्ष र विपक्षमा उभिदा राष्ट्रिय जनता पार्टी विभाजन हुने अवस्थामा पुगेको छ । एउटा पक्षले चौधरीको विषयलाई सत्ताको भर्याङ्ग बनाउन हुन्न भन्दै छ भने अर्काे पक्ष त्यसमा सहमत छैन ।

जनता समाजवादी पार्टी जसपा नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको हो । कैलाली–१ बाट निर्वाचित सांसद चौधरी हाल जेलमा छन् । टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा अदालतले उनलाई आजीवन कारावासको सजाय तोकेको छ । जसपा नेपालकै मागअनुसार रेशम चौधरीलाई रिहा गर्न सरकारसमेत तयार रहेको संकेत देखिएकै बेला रेशम चौधरीका पिता लालवीर चौधरी भने आफ्नो छोरालाई ‘मोहरा’ बनाउन थालिएको गुनासो गर्न थालेका छन् । लालवीरले टीकापुर घटना, रेशम चौधरीको रिहाइसम्बन्धी माग र जसपा नेपालको राजनीतिक मुद्दालाई सहज रुपमा लिएका छैनन् । उनले भनेका छन् – मेरो छोरा रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको छ । सत्ता साझेदारीका लागि जसपा नेपालले रेशमको रिहाइलाई सर्त बनाएको छ । रेशमको रिहाइबारे सर्त ठीक हो, तर लाल आयोगको प्रतिवेदनमा टेकेर अघि बढनुपर्ने खाँचो म देख्छु । अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ । त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मुद्दा हो भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ । मधेसमा आन्दोलन चल्दा यस्ता मुद्दाहरु धेरैले भोगेका छन् । अहिले त जसपा नेपालले हावाका भरमा रेशम चौधरीको रिहाइको माग गरिरहेको छ, यो सत्ता स्वार्थमात्र हो । रेशममात्र होइन, सबै थारु जातिमाथि अन्याय भएको छ । यसको छिनोफानो लाल आयोगले मात्र गर्न सक्छ भनेर धेरै पहिलादेखि हाम्रा नेताहरुले भन्दै आएका हुन् । हामी पीडित छौं, दशौं करोडको क्षति भएको छ, छोरा जेलमा छ । हामी थारु जाति नभइदिएको भए १० करोड क्षतिको बदला १५ करोड पाइन्थ्यो होला ।

थारु भएकै कारण हामीले अहिलेसम्म अन्याय भोग्दै आएका छौं । केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउनका लागि रेशमलाई मोहरा नबनाउन् । रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्छ । ओली सरकारले टीकापुर घटनाका दोषी ठहरिएका सबैलाई रिहा गर्न सक्थ्यो । तर, यतिका वर्षसम्म किन गरेन ? अहिले आएर रेशमको रिहाइबारे प्रधानमन्त्री ओलीले जसपा नेपालका नेताहरुसँग कुरा गर्नु भनेको टीकापुर घटनाका पीडित, थारु समुदायले उठाएका राजनीतिक मागप्रति सद्भाव देखाएर होइन कि आफ्नै नेतृत्वको सरकार टिकाइराख्न मात्र केन्द्रित छ भन्ने कुरा सबैले बुझेका छन् । जसपाले रेशमको रिहाइको माग पार्टीका लागि गरेको हो या व्यक्तिका लागि गरेको हो भन्नेमा हामी पनि अन्योलमा छौं ।