रोनाल्डोको घोषणा : ‘यो मेरो अन्तिम विश्वकप, तर अन्तिम खेल होइन’
काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। स्पेनविरुद्ध हुने अन्तिम १६ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप यात्रा भएको स्पष्ट पारे।
सन् २००६ देखि लगातार ६ संस्करणको विश्वकप खेल्दै आएका रोनाल्डोले विश्व फुटबलमा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। जारी विश्वकपको समूह चरणमा उज्वेकिस्तानविरुद्ध गोल गर्दै उनी ६ वटा फरक–फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका थिए।
पत्रकार सम्मेलनमा रोनाल्डोले भने, “अहिले मेरो लक्ष्य खेलको भरपुर आनन्द लिनु हो। यो मेरो अन्तिम विश्वकप हुनेछ, तर आशा छ, भोलिको खेल मेरो अन्तिम खेल हुने छैन।”
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको समय नजिकिँदै गएको संकेत गर्दै उनले फुटबलप्रतिको आफ्नो समर्पण दोहोर्याए।
“मैले फुटबलका लागि आफ्नो सबैथोक दिएको छु। अब मलाई केही प्रमाणित गर्न बाँकी छैन। म फुटबललाई माया गर्छु, त्यसैले खेलिरहेको छु,” उनले भने।
जारी विश्वकपमा रोनाल्डोले तीन गोल गरिसकेका छन्। उनले समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए भने नकआउट चरणमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत अर्को गोल थपेका थिए।
पोर्चुगललाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप (युरो) जिताएका रोनाल्डोले विश्वकप उपाधि नजित्दैमा आफ्नो करियर अपूर्ण नहुने बताए।
“विश्वकप जितेँ भने म ठूलो हुँदैन, नजितेँ भने सानो पनि हुँदिनँ। हामीसँग उपाधि जित्ने क्षमता छ, तर अन्ततः प्रतियोगिता एउटा टोलीले मात्रै जित्छ,” उनले भने।
यसैबीच, रोनाल्डोले स्पेनका १८ वर्षीय युवा स्टार लामिन यामलको खुलेर प्रशंसा गर्दै उनको भविष्य उज्ज्वल रहेको बताए। यद्यपि, स्पेनविरुद्धको खेललाई उनले कुनै एक खेलाडीको होइन, सम्पूर्ण टोलीविरुद्धको चुनौतीका रूपमा लिएको स्पष्ट पारे।