Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मनाङ । हिमाल पारीको जिल्लाका रुपमा परिचित मनाङ जस्ता हिउ पर्ने जिल्लाहरुमा कोरोना महामारी र चिसोले बन्द भएका विद्यालय एक वर्षपछि बल्ल सञ्चालनमा आएका छन्। गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द अवस्थामा रहेको राससले जनाएको छ । जाडो शुरु भएपछि विद्यालय नै पोखरा सार्ने चलन पनि त्यहाँ छ । पहुँँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि मनाङमा भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएको थिएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय बताउँछन् । केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् ।
सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरु गरेका छन् । विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो । चारवटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने चैत १६ पछि खुल्ने भएका हुन् । जाडो छल्न काठमाडौँ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन । चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए । उनका अनुसार आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल २९२ विद्यार्थी छन् । नासोँ गाउँपालिका–१ तालमा रहेको भानु मावि र नासोँ गाउँपालिका– ५ थोँचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सञ्चालन भएका छन् । मनाङको तल्लो क्षेत्रको चामे र नासोँ गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताएका छन् । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ विद्यालयमा भने पठनपाठन शुरु भएको छैन । विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन शुरु हुने उनले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख रेग्मीका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् । तर माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ । यस वर्ष कोरोनाका कारणले भने पठनपाठन नहुँदा यो शैक्षिकसत्र नै प्रभावित भएको छ । जिल्लामा २६ सामुदायिक विद्यालय र एक निजी विद्यालय छन् । जिल्लाभर चार मावि, आठ आधारभूत तह र १५ वटा प्राविमा १९० शिक्षक दरबन्दी छन् । जिल्लाभर ६०२ विद्यार्थी अध्यनरत रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । माथिल्लो भेगका विद्यालय भने कुनै कक्षा सञ्चालन नभइकन यो शैक्षिकसत्र सकिएको छ । तल्लो भेगमा भने वैशाख महिनादेखि नै नयाँ शैक्षिकसत्र शुरु हुने गरेको छ । अब नयाँ भर्न अभियान गर्ने कि पुरानै कक्षा सञ्चालन गर्ने दोधारमा रहेको छ ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल