Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वर्षाले खोस्यो नेपालको एसियाली खेलकुदको यात्रा

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ। श्रीलंकाविरुद्ध मंगलबार तय भएको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान ५ः४५ बजे खेल सुरु हुने तालिका थियो। तर निरन्तर वर्षाका कारण मैदान खेलका लागि तयार हुन नसकेपछि टससमेत नभई खेल रद्द गरिएको हो।

खेल रद्द भएपछि प्रतियोगिताको नियमअनुसार उच्च वरीयतामा रहेको श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकाले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल भने वर्षाका कारण खेल खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिन पुगेको छ। यसअघि पनि एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार वर्षाले क्वार्टरफाइनलका खेलहरू प्रभावित पारेको थियो। सोमबार पाकिस्तान–हङकङ तथा भारत–अफगानिस्तानबीचका दुवै क्वार्टरफाइनल पनि वर्षाका कारण रद्द भएका थिए।

समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको थियो नेपाल

नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘ए’को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको थियो। पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको थियो।

त्यसपछि आयोजक जापानसँगको खेल पनि वर्षाका कारण ‘नो रिजल्ट’ मा टुंगिएको थियो। वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले चार विकेट गुमाएर १४९ रन बनाएको थियो। सन्दीप जोराले ५७ रन र लोकेश बमले ५२ रनको अर्धशतकीय योगदान दिएका थिए। तर नेपालले आफ्नो इनिङ सकिएलगत्तै पुनः भारी वर्षा भएपछि जापानले ब्याटिङ गर्न नपाई खेल रद्द भएको थियो।

जापानविरुद्धको खेलबाट एक अंक पाएपछि नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको थियो।

तर श्रीलंकाविरुद्धको निर्णायक खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले मैदानमा उत्रिने अवसर नै पाएन। उच्च वरीयताका कारण श्रीलंकाले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा नेपालको एसियाली खेलकुदको पुरुष क्रिकेट यात्रा समाप्त भएको छ।