Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विकासको मुद्दामा सम्पूर्ण प्रयास : प्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् । दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।

हामी अलिकति विलम्ब भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं, संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।
विकास, विज्ञान–प्रविधि, भौतिक पूर्वाधारजस्ता विषयमा विश्व तीव्र गतिमा अगाडि बढेको जिकिर गर्दै यो तीव्र गतिलाई पक्डन नसके हामी पछाडि परिने प्रम ओलीको भनाइ थियो । विकासको यस गतिलाई समाउन सकेनौँ भने हामीले समयलाई खेर फालेका हुन्छौँ हामीलाई समयलाई पर्खदैन । उनले विकासको दिशामा देशलाई अगाडि बढाउने कामको नेतृत्व अहिलेको सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले देश अहिले राजनीतिक आन्दोलनको चरण पार गरेर विकासको चरणमा प्रवेश गरेको उल्लेख गरे । अबको एजेन्डा सुशासन र विकास हुनुपर्ने बताउँदै यसमा सबै दल एकताबद्ध अगाडि बढ्नुपर्नेमा जोड दिए ।
हाम्रो समाजको चरित्र पनि मेलमिलाप ढंगले अगाडि बढ्नेछ । हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यौँ । जनतामा सार्वभौम शक्ति आइसक्यो । हामीले लोकतान्त्रिक प्रणाली मात्र नभएर प्रक्रिया अवलम्बन गरेका छौँ । यस्तो अवस्थामा सुशासन र विकासको मुद्दामा सम्पूर्ण प्रयास र विचारलाई केन्द्रीत गरेर अगाडि बढ्नुपर्नेछ, प्रम ओलीले भने ।