Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। अब विदेशमा बसेर साइबर अपराध गरे पनि उनीहरुलाई नेपाल ल्याएर कारबाही गरिने भएको छ । जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ । युट्युब तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक, इन्सटाग्राममा सक्रिय कार्कीको अभिव्यक्तिले अराजकता फैलाएको भन्दै साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको हो । दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले ‘‘प्रधानमन्त्रीलाई मार्नुपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति उछृङ्खल भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो। साइबर ब्यूरोले अनुसन्धान अघि बढाएपछि सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफ्नो अभिव्यक्तिप्रति कार्कीले माफी मागेका छन् । आफ्नो इन्टेन्सन त्यस्तो नभए पनि बोल्ने बेलामा जिब्रो चिप्लिएर मार्छु भन्ने शब्द प्रयोग भएको भन्दै उनले स्ष्टीकरण दिएका छन् । उक्त शब्द प्रति माफीसमेत माग्दै उक्त भिडिओसमेत आफूले हटाइसकेको भ्लगर कार्कीले उल्लेख गरेका छन् । चितवनका कार्की अहिले विद्यार्थी भिसामा जापानमा छन् । उनी जापानमै रहे पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएर कारबाहीको प्रक्रिया समेत अघि बढाउन सुरु गरेको छ । विदेशमा बसेरमा विद्युतीय माध्यममार्फत साइबर अपराध गर्नेविरुद्ध साइबर ब्यूरोले कारबाही गर्दै आएको छ । कार्की मात्रै होइन यसअघि पनि यस्तै घटनामा अन्य व्यक्तिहरुलाई विदेशबाट नेपाल ल्याएर कारबाही गरेको तथ्यांक साइबर ब्यूरोसँग छ । साइबर ब्यूरोको तथ्यांक अनुसार विदेशमा पुगेर अपराध गर्ने, विशेषतः साइबर अपराध गर्ने नेपालीको संख्या उत्तिकै छ । आर्थिक वर्ष २०८०–८१ मा विदेशमा बसेर साइबर अपराध गरेको आरोपमा ७ नेपाली विरुद्ध नेपालमा मुद्दा दायर भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म दुई जना विरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ । चालु आर्थिक वर्षको २१ साउनमा रोमानियामा बसेर साइबर अपराध गरेका एक युवक घर फर्केका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । साइबर ब्यूरोको टोलीले तनहुँ घिरिङ गाउँपालिका–१ का ३५ वर्षीय सन्दिप थापा मगरलाई पक्राउ गरेको थियो । उनले एक महिलाको फेसबुक ह्याक गरी श्रीमान्–श्रीमतीबीच भएका कुराकानी तथा तस्बिरहरू सार्वजनिक गरिदिएका थिए । उक्त कुराकानी तथा तस्बिर र भिडिओहरू नक्कली आईडी बनाएर उनीहरूका आफन्तलाई पठाउँदै ब्ल्याकमेलिङ गरेको पाइएपछि उनलाई पक्राउ गरेर साइबर ब्यूरोले कारबाही अघि बढाएको थियो । गत १६ असोजमा पनि अर्का युवक यस्तै प्रकृतिको घटनामा पक्राउ परेका थिए । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपाली महिलाको चरित्र हत्या गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिका–५ घर भएका २९ वर्षीय खगेन्द्र यरी पक्राउ परेका थिए । मलेसियाबाट काठमाडौं आएका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए । विदेशमा बसेर साइबर अपराध गरे पनि उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा साइबर मुद्दा दर्ता गरेर प्रहरीले यरीलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको थियो । नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) मार्फत प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेपछि यरी विरुद्ध रेड नोटिस पनि जारी भयो । मलेसियामै बसेर गरेको कसुर भए पनि अन्ततः उनी नेपालमा पक्राउ परे । साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार विदेशमा बसेर नेपालमा साइबर अपराध गर्नेलाई पक्राउ गरेर नेपालमै कारबाही गर्ने र विदेशमै नेपालीले नेपालीमाथि साइबर अपराध गरे सम्बन्धित प्रहरीलाई जानकारी गराएर पनि कारबाही हुँदै आएको छ ।
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल