Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयले बताएको छ । मन्त्रालयकाअनुसार यो कार्यक्रमलाई विद्यालय शिक्षा क्षेत्रगत योजना (एसईएसपी) नाम दिइएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएको यो योजना सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सैद्धान्तिक स्वीकृति प्रदान गर्नुभएको छ । विद्यालय तहमै यसअघि सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) को निरन्तरताका रूपमा नयाँ योजना सञ्चालन गर्न लागिएको हो । सन् २०१६ मा सुरु भएको एसएसडीपी सन् २०२१ डिसेम्बरबाट सकिएको छ । एसएसडीपी कार्यान्वयनमा ल्याउनुअघि मन्त्रालयले विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) सञ्चालनमा ल्याएको थियो । मन्त्रालयका अनुसार यो योजनामा पहिलो पाँच वर्ष लगानीसम्बन्धी योजना हुनेछ । पाँच वर्षपछि मुद्रास्फीति, बजारको अवस्था आदिलाई आधार मानेर थप बजेट तर्जुमा गरिनेछ । विद्यालय शिक्षा क्षेत्रगत योजना आगामी आर्थिक वर्ष २०७९÷८० बाट सुरु हुने जानकारी थपलियाले दिनुभयो । आगामी वर्षको बजेट निर्माणमा यही योजनाका आधारमा नीति तथा कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।
योजनाको पाँच वर्षभित्र खर्च गरिने कुल बजेटमध्ये विकास साझेदार निकायबाट साढे सात मिलियन अमेरिकी डलर जुट्ने अपेक्षा मन्त्रालयले गरेको छ । यो रकम नेपाली मुद्रामा रूपान्तरण गर्दा करिब ८८ करोड रुपियाँ हुन आउँछ तर साझेदार निकायले विगतका कार्यक्रमको समीक्षा गरेर मात्रै रकम कबुल्ने बताएका छन् । विगतका कार्यक्रममा विश्व बैङ्क, एसियाली विकास बैङ्क, युरोपियन युनियन, ग्लोबल पार्टनर अफ एजुकेसन, फिनल्यान्ड, नर्वेलगायतका विकास साझेदार निकायले विगतका कार्यक्रममा सहयोग गरेका थिए । विगतमा सञ्चालन गरिएका कार्यक्रममध्ये एसएसडीपीको कार्यान्वयनमा केही समस्या आएको थियो । योजना कार्यान्वयनका समयमा खर्च भएको रकम र प्राप्त उपलब्धिका बारेमा स्थानीय तहले नियमित रूपमा सङ्घीय मन्त्रालयलाई जानकारी गराउनुपर्ने हुन्छ तर शिक्षाको अधिकार स्थानीय तहमा गइसकेकाले यो काम निकै झन्झटिलो भएको थियो । सङ्घीय शिक्षा ऐनको अभावमा समस्या सिर्जना भएको थियो । ऐन नहुनु र विद्यालय क्षेत्रको जिम्मेवारी स्थानीय सरकारलाई दिइसकेको अवस्थामा नयाँ योजना कार्यान्वयनमा पनि समस्या आउनसक्ने विज्ञले बताएका छन् ।