Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यालाई पन्छाएर नेतृत्व कब्जा गर्ने ओलीको योजना

काठमडाौं । काँग्रेस महाधिवेशनको चर्चा चुलिए पनि काँग्रेसले भन्दा अगाडि नै एमालेको महाधिवेशन हुने अवस्था आएको छ । अध्यक्ष केपी शर्मा ओलीको चाहनामा अवरोध नभए आउँदो वर्ष नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन हुने नेताहरूले बताएका छन्। आफू प्रधानमन्त्री रहेकै बेला पार्टीको महाधिवेशन सक्ने ओलीको चाहनाअनुसार महासचिव शंकर पोखरेलसहितका नेताहरू तयारीमा खटिइसकेका छन्। चितवनको सौराहामा २०७८ मंसिरमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन भएको थियो र ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए। पाँच वर्ष कार्यकाल हुने भएकोले आगामी ०८३ मंसिरसम्ममा एमालेले महाधिवेशन गर्नुपर्छ। त्यसका लागि करिब एक वर्ष नौ महिना समय बाँकी भएपनि अध्यक्ष ओली महाधिवेशनलाई एकवर्ष अघि ल्याउने प्रयत्नमा जुटेका छन्। एमाले नेताहरू अर्ली महाधिवेशन गर्ने तयारी भइरहेको बताउँछन्। ओली निकट एक नेताले ०८२ को मंसिरदेखि माघभित्र एमालेले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्ने दाबी गरे। कांग्रेसलाई सत्ता हस्तान्तरण र ०८४ को स्थानीय, प्रतिनिधि र प्रदेश सभा चुनावलाई मध्यनजर गरेर एक वर्षअघि नै महाधिवेशन गर्ने प्रयास भइरहेको ती नेताको भनाइ छ। सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन पछाडि सार्न खोजिरहेका बेला एमाले अध्यक्ष ओली भने अगाडि सार्ने तयारीमा जुटिसकेको अर्का स्थायी कमिटी सदस्य बताउँछन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने तयारी स्वरूप जिल्ला दौडाहामा छिन्। एमालेकै सचिवालयका बहुमत सदस्यले भण्डारीलाई एमालेको राजनीतिमा ल्याउन खोजिरहेका छन्। यता, एमाले अध्यक्ष ओली र महासचिव पोखरेल उनलाई रोक्न चाहन्छन्। विधान महाधिवेशनबाटै भण्डारीलाई छेकाबार लगाइने आशंका उनीनिकट नेताहरूको छ। भदौको तेस्रो साता हुने एमालेको विधान महाधिवेशनले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय बन्न नदिने व्यवस्था राख्नसक्ने उनको आशंका छ। एमालेले ७० वर्षको उमेर हद पनि विधान महाधिवेशनबाटै हटाएको थियो। राजनीतिमा लाभहानिको हिसाबकिताब गर्न खप्पिस ओलीले प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर सहजै शक्ति कायम राख्न खोजेको नेताहरू बताउँछन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग असार १७ गते मध्यराति गरिएको सात बुँदे सहमति अनुसार ओली ०८३ असारसम्म प्रधानमन्त्री रहनेछन्। सत्ता हस्तान्तरणअघि उनी पार्टी महाधिवेशन गर्ने योजनामा लाग्नुको मुख्य कारण यही भएको नेताहरूको बुझाइ छ।


सम्बन्धित समाचार