Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्युत निर्यातबाट ८ अर्ब आम्दानी

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात असोज २५ गतेसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले भने, ‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।’
सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेबाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ भारुमा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
आइएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक(फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ ।