Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपद्को सामना गर्न सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वदलीय बैठकले विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ।

सिंहदरबारमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा वातावरणीय संकटप्रति राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको हो।

बैठकले विपद् कुनै एक भूगोल वा सरकारको मात्रै समस्या नभई सिंगो राष्ट्रको साझा संकट भएको निष्कर्ष निकाल्दै नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले प्रभावकारी रूपमा लिनुपर्नेमा दलहरू एकमत भएका छन्। साथै, बेपत्ता नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंहलगायत सहभागी थिए।

सर्वदलीय बैठकले विपद्को कठिन घडीमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर राज्यका सबै संयन्त्र, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई राहत, उद्धार र पुनर्स्थापनामा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।