Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपद्मा नेपाल स्काउटको सक्रियता: एक ढिक्का भएर मैदानमा खटिए स्वयंसेवक

काठमाडौं । नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्य समितिमा नयाँ अन्तरिम समिति गठन गरेपछि सो समितिले स्काउटका गतिविधिलाई तिव्र रुपमा अगाडि बढाएको छ । अध्यादेशमार्फत् तत्कालिन कार्यसमिति विघटन भएपछि स्काउट नेतृत्व विहीन भएको थियो । नयाँ अन्तरिम समितिको संयोजकमा सन्तोषकुमार थापाको नियुक्तिसँगै कार्य समितिले स्काउट गतिविधिलाई तिव्र रुपमा अगाडि बढाएको छ । निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम समितिले स्काउट गतिविधि अगाडि बढाइरहेको बेला भोटेकोशी विपद्पछि खोज, उद्धार र राहत कार्यक्रममा स्काउट स्वयंसेवक परिचालन गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समुदायमार्फत् राहतका सामग्री जुटाउने काम गर्दै आएको छ । विपद्मा स्काउटको साथलाई नेपाल सरकारले समेत प्रशंसा गर्दै आएको छ । अन्तरिम कार्यसमितिको नेतृत्व गरेका संयोजक थापाको सक्रियताको कारण बाढीको पहिलो दिनदेखि नै नेपाल स्काउट उद्धार, राहत र पुनःस्थापनासँग सम्बन्धित कार्यमा अग्रपंक्तिमा परिचालित हुँदै आएको छ। प्रभावित समुदायको आवश्यकता पहिचान गरी स्वयंसेवक जनशक्ति र स्रोतलाई आवश्यक स्थानमा परिचालन गरिएको छ। सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै नेपाल स्काउटले उद्धार तथा राहत, खाना व्यवस्थापन, सामुदायिक भान्सा, राहत सामग्री व्यवस्थापन, होल्डिङ सेन्टर सञ्चालन सहयोग तथा बालबालिकासँग सम्बन्धित गतिविधिलाई निरन्तरता दिएको छ। अन्तर्राष्ट्रिय रुपमा परिचित वल्र्ड सेन्ट्रल किचेन सँगको सहकार्यमा प्रभावित विभिन्न स्थानमा सामुदायिक भान्सा सञ्चालन गरी प्रभावित परिवार तथा स्वयंसेवकहरूका लागि नियमित खाना तयार तथा वितरण भइरहेको छ। विपद् लगत्तै उक्त संस्थाले प्रभावित क्षेत्रमा पुगेर आफ्नो सेवा प्रारम्भ गरेको थियो । प्रभावित बालबालिकालाई विशेष प्राथमिकतामा राख्दै खेल, सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधि र मनोसामाजिक सहयोगमार्फत विपद्का कारण परेको मानसिक असर कम गर्दै उनीहरूलाई सुरक्षित र सकारात्मक वातावरणमा राख्ने प्रयासमा समेत स्काउट स्वयंसेवकहरु परिचातिल छन् । तालिम प्राप्त स्काउट स्वयंसेवकहरु पालैपालो परिचालन गरिएका छन् भने केही स्वयंसेवकहरू प्रभावित क्षेत्रमा लामो समयदेखि निरन्तर खटिएका छन्। यसले तत्काल राहतसँगै निरन्तर स्वयंसेवा सुनिश्चित गरेको छ। काठमाडौंमा स्थापित होल्डिङ सेन्टरहरूमा समेत नेपाल स्काउटका स्वयंसेवक परिचालित छन्। उनीहरूले खानपान र बसोबासको व्यवस्था मिलाएका छन् । राहत सामग्री व्यवस्थापनमा पनि नेपाल स्काउटको सक्रिय सहभागिता छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सम्बन्धित कार्यालयमा दैनिक २५ जनाभन्दा बढी स्वयंसेवक परिचालन गरी राहत सामग्रीको प्याकिङ, वर्गीकरण, व्यवस्थापन तथा प्रभावित क्षेत्रमा पठाउने कार्यमा सहयोग भइरहेको छ। संयोजक थापाले दैनिक जसो प्रभावित क्षेत्रमा सहयोग गर्न जाने सयौं स्वयंसेवी स्काउटहरुलाई निर्देशनसहित बिदाई गरिरहेका छन् । विपद्सम्बन्धी तालिम लिएका स्काउटरहरु प्रभावित क्षेत्रमा विपद् व्यवस्थापनमा सक्रिय रहेका सुरक्षाकर्मीहरुसँगै परिचालित छन् । प्रधानमन्त्री एवं नेपाल स्काउटका संररक्षक बालेन्द्र शाहको निर्देशन एवं प्रमुख स्काउट शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सक्रियताकै कारण नेपाल स्काउटको सम्पूर्ण संयन्त्र विपद् व्यवस्थापनमा सक्रियतापूर्वक क्रियाशील छन् । जसका कारण पटक पटक प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो विज्ञप्तिमा समेत स्काउटको नेतृत्वले विपद् व्वस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आएका छन् । विपद्को शुरुवातदेखिनै राष्ट्रिय संयोजक थापाले सरकारी निकाय, मन्त्रालय, विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्र तथा प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै नेपाल स्काउटको स्वयंसेवी जनशक्ति र स्रोत परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको विषयले चर्चा पाउँदै आएको छ । सरकारको आवश्यकता र प्रभावित समुदायको वास्तविक अवस्थाबीच समन्वय कायम गर्दै आवश्यक सहयोग पहिचान गर्ने, स्वयंसेवकलाई सही स्थानमा परिचालन गर्ने र उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। नेपाल स्काउटको स्वयंसेवी परिचालनलाई सरकारी विपद् व्यवस्थापन प्रणालीसँग जोडेर एकीकृत रूपमा काम गर्ने प्रयास गरिएको छ, जसका कारण राहत, खाना व्यवस्थापन, होल्डिङ सेन्टर र बालबालिकासँग सम्बन्धित सेवाहरूलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुगेको छ। सरकारी निकाय र सार्वजनिक क्षेत्रबाट नेपाल स्काउटको सक्रियता तथा स्वयंसेवी भूमिकाको सकारात्मक मूल्याङ्कन भइरहेको छ। सरकारी विपद् व्यवस्थापन प्रयाससँग सहकार्य गर्दै नेपाल स्काउटले समुदायको तत्काल आवश्यकता पूरा गर्न आफ्नो जनशक्ति परिचालन गरिरहेको छ। विपद्पछिको पुनस्र्थापना कार्यमा पनि नेपाल स्काउटले प्रभावकारी भूमिका निर्वाह गर्नकै लागि अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि समन्वय गरिरहेको छ । विपद्मा परेका नागरिकको उद्धार, पुनस्थापना कार्यमा आफ्नो सीमित स्रोत साधनका बाबजुद स्वयं सेवी जनशक्तिलाई एक ढिक्का रुपमा परिचालन गर्न सफल भएकोमा नेपाल स्काउटको नेतृत्वको खुलेर प्रशंसा भइरहेको छ । विगतमा एक अर्काप्रति आरोप प्रत्यारोप गर्ने स्काउटका अग्रजहरु पनि अहिलेको नेतृत्वसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा पीडितसँगै दुःख साँटीरहेका छन् । यसले स्काउटको नेतृत्व मजबूद बन्दै गएको सन्देश दिएको छ ।