Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपिन जोशीको अवस्था अझै अज्ञात

एजेन्सी । हमास–इजरायलबीच युद्धविराम सुरु भए पनि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी सुरुका तीन हप्ता रिहा हुने छैनन्। किनकि युद्धविराम सुरु भएको तीन हप्तासम्म विपिनलाई रिहा गर्ने विषय न हमासको प्राथमिकतामा थियो, न त इजरायलको नै। सुरुवाती तीन हप्ताभित्र ३३ इजरायली बन्दी रिहा हुने र बदलामा अलिक ठूलो संख्यामा प्यालेस्टिनी बन्दी रिहा हुने सर्तसहित दुई पक्षले युद्धविराम गरेका थिए। सुरुका तीनहप्ता विपिनको रिहाइको सट्टा आआफ्ना बन्दी रिहाइलाई प्राथमिकता दिएका कारण त्यो अवधिमा विपिन छुट्ने कुनै गुन्जायस थिएन। तर, हमास–इजरायलबीच युद्धविराम सुरु भएको गत शनिबार ६ हप्ता बितिसकेको छ। यो ६ हप्ताको अवधि भनेको दुई पक्षबीचको ९० दिने युद्धविरामको पहिलो चरण हो। पहिलो चरण बित्दै गर्दा हमास–इजरायलबीचको युद्धविराममा गतिरोध उत्पन्न भएको छ। युद्धविरामको पहिलो चरण सकिनै लाग्दा हमासले आफ्नो कब्जामा रहेका ६ जना इजरायली बन्दीलाई मुक्त गरेको थियो। बदलामा इजरायलले आफ्नो जेलमा रहेका ६ सय प्यालेस्टिनीहरूलाई रिहा गर्नुपर्ने थियो। तर, बन्दी रिहा गर्न इजरायलले आनाकानी गरेपछि फेरि युद्धविराम धरापमा पर्ने हो कि भन्ने त्रास फैलिएको छ। पहिलो चरणमा रिहा हुनुपर्ने प्यालेस्टिनी बन्दी रिहा नहुनु, दोस्रो चरणको युद्धविराम कार्यान्वयनका लागि दुई पक्ष वार्तामा बस्न नसक्नु र आरोप–प्रत्यारोप बढ्नुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको यथार्थ स्थितिको जानकारी हासिल गर्ने विषय थप अन्योलमा परेको छ। तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार बुधबार इजरायलले प्यालेस्टिनी बन्दी छाड्ने सहमति दिएको छ। इजरायलमाथि २० असोज २०८० मा गरेको आक्रमणको क्रममा हमासको कब्जामा परेका विपिन जीवित रहेको दाबी इजरायलले पटक–पटक गर्दै आएको छ। इजरायली दाबीका आधारमा नेपाली अधिकारीहरूले पनि विपिन जीवितै रहेको आशा प्रकट गर्दै आएका छन्। परराष्ट्रमन्त्री डा. राणाले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको २९ पुसको बैठकमा जोशी जीवितै रहेको दाबी गरेकी थिइन्। इजरायली सेनाले पनि एक वर्षअघि विपिन जीवितै रहेको सूचना प्राप्त भएको दाबी गरेको थियो। विपिन अपहरणमा परेको एक महिनापछि २२ नोभेम्बर २०२३ (६ मंसिर २०८०) मा इजरायली सेनाले सार्वजनिक गरेको भिडिओ फुटेजमा हमासको कब्जामा एक युवक देखिन्थे, जो नेपाली विद्यार्थी विपिन जोशी रहेको इजरायली सेनाको दाबी थियो। गाजास्थित अल–शिफा अस्पतालको सो भिडिओ फुटेजमा हमासको कब्जामा रहेका विपिन टिसर्ट, हाफप्यान्ट र चप्पल लगाएको अवस्थामा देखिन्छन्। हमास लडाकुहरूले उनलाई एक स्थानबाट अर्को स्थानमा सारिरहेको देखिन्छ। तीन महिनाअघि नेपालका लागि इजरायली राजदूत सामुलिक एरी बासले पनि विपिन जीवितै रहेको सूचना आफूलाई प्राप्त भएको बताएका थिए। इजरायली पक्षका यस्तै सूचना र दाबीका आधारमा परराष्ट्रमन्त्री डा। राणाले विपिन जोशी जीवितै रहेको र छिट्टै फर्कने आशा व्यक्त गरेकी थिइन्। इजरायली–नेपाली दुवै पक्षले विपिन जीवित रहेको दाबी गरेपनि उनको रिहाइमा भने कुनै सफलता प्राप्त हुन सकेको छैन। पछिल्लो समय इजरायली पक्षले हमासले रिहा गर्नुपर्ने बन्दीहरूको जुन सूची बनाएको छ, विपिनको सुरक्षित रिहाइका सन्दर्भमा त्यो सूची त्यति आशाप्रद छैन। जहाँसम्म हस्तान्तरण गर्न बाँकी ५७ जनाको सन्दर्भ हो, उनीहरूलाई इजरायली पक्षले ‘जीवित’, ‘स्थिति अज्ञात’ र ‘मृत्यु भइसकेका’ गरी तीन श्रेणीमा विभाजन गरेको छ। जहाँसम्म विपिन जोशीको सन्दर्भ हो, पछिल्लो समय इजरायली पक्षले विपिनलाई ‘स्थिति अज्ञात’ रहेको सूचीमा राखेको छ। यो भनेको उनी कहाँ कुन अवस्थामा छन् भन्ने यकिन सूचना इजरायली पक्षलाई पनि छैन भन्ने हो। विपिनको यो स्थितिले उनको रिहाइका लागि नेपालको तर्फबाट अझ उच्चस्तरको कूटनीतिक पहलको माग गर्छ। तर, हमास–इजरायलबीच युद्धविराम सुरु भएपछि पनि नेपाल परराष्ट्रमन्त्री स्तरको कूटनीतिक पहलभन्दा माथि उठ्न सकेको छैन।


सम्बन्धित समाचार