Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विभाजन टार्न सभापति गगन थापा आफैं सक्रिय

काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद र विभाजनको जोखिमबीच सभापति गगन थापाले संस्थापन इतर पक्षका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवादको पहल गर्ने भएका छन्। कार्यदलमार्फत सहमति खोज्ने प्रयास प्रभावकारी हुन नसकेपछि उनी आफैं संवादमा सक्रिय हुन लागेका हुन्।

सभापति थापाको सचिवालयका अनुसार नेता डा. शेखर कोइराला र निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग भेटवार्ताको तयारी भइरहेको छ। दुवै नेताको समय मिल्नासाथ छलफल हुने र त्यसबाट सहमतिको आधार खोजिने अपेक्षा गरिएको छ।

यसअघि कार्यदल गठन गरेर समाधान खोज्ने प्रस्तावमा डा. शेखर कोइराला सकारात्मक देखिए पनि पूर्णबहादुर खड्का तयार भएका थिएनन्। त्यसपछि संस्थापन इतर समूहले कार्यदलमा सहभागी हुनुभन्दा राष्ट्रिय भेलाको तयारीलाई प्राथमिकता दिएको छ।

इतर समूहले साउन १६ गते पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गर्दै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिसकेको छ।

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार सभापति थापा पार्टीभित्रको विवाद समाधानका लागि अधिकतम लचिलो बन्न तयार छन्।

उनका अनुसार १४औँ महाधिवेशनबाट बनेको कार्यसमिति विशेष महाधिवेशनबाट बनेको संरचनासँग गाभ्ने विषयबाहेक अन्य अधिकांश मुद्दामा सहमति गर्न सभापति सकारात्मक छन्।

१५औँ महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, विधान संशोधन समिति तथा अन्य संरचनामा संस्थापन इतर पक्षलाई समेट्न पनि नेतृत्व तयार रहेको चौधरीले बताएका छन्।

क्रियाशील सदस्यताको विवाद समाधानका लागि आवश्यक परे छुट्टै छानबिन समिति गठन गर्नसमेत नेतृत्व तयार रहेको उनको भनाइ छ।

संस्थापन इतर समूहका नेताहरूले भने पार्टी एकता सभापति थापाको राजनीतिक इच्छाशक्तिमा निर्भर रहेको बताएका छन्।

इतर समूहका प्रचार–प्रसार संयोजक विश्वकर्माले देखावटी वार्ताले समाधान नआउने भन्दै वास्तविक राजनीतिक निर्णय भए छोटो समयमै सहमति सम्भव रहेको दाबी गरेका छन्।

कांग्रेसभित्र एकताको पक्षमा समानान्तर दबाब अभियान पनि सुरु भएको छ। युवा नेता, स्थानीय तहका जनप्रतिनिधि तथा पूर्व केन्द्रीय सदस्यहरूले पार्टी फुट्न नदिन नेतृत्वलाई दबाब दिन थालेका छन्।

निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले विशेष महाधिवेशनपछि कार्यसमितिबाहिर रहेका १११ जनामध्ये ३५ जना आफूहरू केन्द्रीय सदस्य नबनेर पनि पार्टी एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन्।

उनले व्यक्तिगत स्वार्थभन्दा पार्टीको एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै हस्ताक्षर अभियानदेखि राष्ट्रिय भेलासम्मका कार्यक्रममार्फत नेतृत्वमाथि दबाब बढाइने जानकारी दिएका छन्।

कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरूले पनि साउन २७ गते राष्ट्रिय भेला आयोजना गरी पार्टी एकताका पक्षमा साझा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

यसैबीच नेता डा. शेखर कोइरालाले एकता पक्षधर अभियानले पार्टीभित्र सकारात्मक वातावरण सिर्जना गरेको बताएका छन्। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पनि केही नेताहरूले पद त्याग्नसमेत तयार रहेको अवस्थामा बाँकी नेताहरूलाई समेटेर सहमतिमा पुग्नु नै उपयुक्त विकल्प हुने धारणा व्यक्त गरेका छन्।

पार्टीभित्र एकातिर राष्ट्रिय भेलाको तयारी तीव्र बनिरहेको छ भने अर्कोतर्फ शीर्ष तहमा प्रत्यक्ष संवादको प्रयास अघि बढेकाले आगामी केही दिन कांग्रेसको आन्तरिक राजनीतिका लागि निर्णायक बन्ने देखिएको छ।